यो संसद अधिवेशन २०२२ को चौथो साता अर्थात् जनवरी ३१ देखि फेब्रुअरी ५सम्मको नेपाली संस्करणको न्युजलेटर हो ।
यो साता झरीमय रह्यो । झरीले अप्रिल सावर अलि छिट्टै आएजस्तो आभास दियो । तर, सप्ताहान्तमा झरी रोकिएर मौसम सफा हुनेछ भन्ने मलाई लागेको छ ।
झरीका बाबजुद पनि संसद अधिवेशन जारी रह्यो । साताभरि नै विधायिकी काममै व्यस्त रहियो । अर्को शुक्रबार यो अधिवेशनका लागि विधेयक दर्ता गर्ने अन्तिम दिन हो । म मेरा विधेयकहरूलाई अन्तिम रूप दिन लागिपरिरहेको छु ।
समिति हाइलाइटहरू
स्वास्थ्य र सरकारी सञ्चालन समितिमा यो साता २०वटा विधेयकमाथि सुनुवाइ भयो। विधायक एरियाना केलीले अध्यक्षता गरेको स्वास्थ्य व्यवसाय र दीर्घकालीन हेरचाह उपसमितिमा रहेर सहकर्मीहरूसँग काम गर्न पाउँदा म ज्यादै खुशी छु। यद्यपि, यो साताको सबैभन्दा उल्लेखनीय काम चाँहि राज्यको बजेटका बारेमा विधायिकी सेवा विभागबाट दिइएको जानकारी नै थियो।
म आगामी १० वर्षमा हाम्रा विद्यालयहरूमा ३२ बिलियन डलर लगानी गरिने परियोजनाका लागि लागिपरिरहेको छु। मेरिल्याण्डको भविष्यमै प्रभाव पार्ने यो योजनाको पक्षमा पैरवी गर्न पाउँदा म खुशी छु । तर, गभर्नरले प्रस्तुत गरेको आर्थिक वर्ष २०२३ को बजेटमा यो योजनाको महत्वपूर्ण हिस्साका लागि विनियोजित १४० मिलियन डलर समावेश नगरेको देख्दा म आश्चर्यमा परेको छु ।
मैले सोधेँ, ‘किन हामी हाम्रा विद्यार्थीहरूलाई भविष्यको सफलताको लागि बलियो जग दिने मौका गुमाउदैछौं?‘ मलाई जवाफ दिइयो: प्रशासनले त्यो १४० मिलियन डलरको बजेटलाई जनादेश हो भनेर विश्वास गरेन, आफूले दिनुपर्ने रकम मात्रै बजेटमा समावेश गर्यो । ४ बिलियन डलर उब्रिदा पनि त्यो रकम बजेटमा समावेश नगरेबाट गभर्नर होगनको प्राथमिकता विद्यार्थीको सफलता हो भन्ने मलाई लागेन। तैपनि त्यो छुटेको रकम समावेश गरेर पूर्ण बजेट ल्याउन म प्रतिवद्ध रहनेछु ।
बजेट जानकारीसम्बन्धी भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । मेरो प्रश्न २५:१८ मा सुरू हुन्छ।
स्वास्थ्य र सरकारी सञ्चालन समितिको मतदान सत्रबाट पारित विधेयकहरू :
एचबी २१ – आवासीय बाल हेरचाह कार्यक्रम पेशेवरहरूको प्रमाणीकरणको लागि राज्य बोर्ड – सदस्यता र आधिकारिक छाप
(विधायक: कलिसन)
एचबी ३२ – मानसिक स्वास्थ्य कानून – आपतकालीन मूल्याङ्कनका लागि याचिकाहरू – इलेक्ट्रोनिक अभिलेख
(विधायक- बाग्नल)
एचबी १०६ – स्वास्थ्य बीमा – गैर नाफामुखी स्वास्थ्य सेवा योजना – निर्देशक बोर्ड
(विधायक- कलिसन)
एचबी ११९ – बीमा – वार्षिकी – गैरजरिवाना – ब्याज दर
(विधायक- छी)
एचबी १५५ – अडियोलोजिस्ट, हियरिङ एड डिस्पेन्सर, स्पीच-लैंग्वेज प्याथोलोजिस्ट, र संगीत चिकित्सकहरूका लागि परीक्षकहरूको राज्य बोर्ड – संशोधनहरू
(विधायक- नमूना-ह्युजेस)
एचबी १६३– सार्वजनिक सूचना ऐन – आवश्यक अस्वीकार – सामाजिक सूचना र वितरण सूची
(विधायक- कार)
एचबी १६७ – मेरिल्याण्ड महिला वेटरन्स मेमोरियल स्थापना गर्न आयोग
(विधायक- बाग्नल)
एचबी १८० – अन्तरराज्यीय चिकित्सा अनुमतिपत्र कम्प्याक्ट – सूर्यास्त विस्तार र रिपोर्टिङ
(विधायक- बाग्नल)
एचबी २२७ – राज्य सरकार – अदालत तथा कर्मचारी विदा – जुनेटिन्थ राष्ट्रिय स्वतन्त्रता दिवस
(विधायक- ह्यारिसन)
एचबी २४६ – खुला बैठक ऐन – सूचना, बन्द सत्र र बैठक पुस्तिका – अवधारण अवधि, अनलाइन पोस्टिङ र सार्वजनिक निरीक्षण
(विधायक- कार-लेहम्यान)
काउन्टी प्रतिनिधिमण्डल अपडेट्स
सिनेटर बेन कार्डिनले बाल्टिमोर काउन्टी प्रतिनिधिमण्डलसमक्ष समसामियक विषयमा अमेरिकी संघीय संसदको धारणा राख्नुभयो। त्यसका लागि म सिनेटर कार्डिनलाई धन्यवाद दिन चाहन्छु ।
सिनेटको विदेश सम्बन्ध समितिमा र्याङ्किङ सदस्य सिनेटर कार्डिनले युक्रेन र रूसबीचको द्वन्द्वको लागि एकीकृत राष्ट्रिय प्रतिक्रिया निर्माण गर्न गरिएका प्रयासहरूका बारेमा हामीलाई जानकारी गराउनुभयो। उहाँले हाम्रो राज्यमा अरबौंको विकास कोष ल्याउने राष्ट्रपति बाइडेनको पूर्वाधार लगानी र रोजगार ऐनको बारेमा पनि प्रकाश पार्नुभयो ।
हामीले बाल्टिमोर क्षेत्रलगायत देशभरि नै देखापरेका हुलाक सेवाका केही सुधार भएका तर समाधान हुनबाट टाढा रहेका समस्याहरूका बारेमा पनि छलफल गर्यौं । मैले अमेरिकी हुलाक सेवाका पार्कभिल शाखाका प्रबन्धकका साथै सम्पूर्ण बाल्टिमोर जिल्लाको प्रतिनिधिसँग कुरा गरें। मेरा सहकर्मीहरू र डिस्ट्रिक्ट ८ का तर्फबाट मैले सिनेटरहरू बेन कार्डिन र क्रिस भान होलेन, साथै सांसद डच रुपर्सबर्गरलाई यी समस्याहरू सुधार गर्न मद्दतका लागि अनुरोध गर्दै औपचारिकपत्र पठाएँ।
हामी दैनिक जीवनका धेरैजसो कार्यहरूको पत्राचारका लागि अमेरिकी हुलाक सेवामा निर्भर छौं । तर, यसको सेवामा समस्याहरू देखिएका छन् । हामीले यी समस्याका लागि एकले अर्कालाई दोष दिएर पन्छने भन्दा पनि प्रभावकारी र स्थायी समाधान खोज्नुपर्छ । हाम्रा सिनेटर कार्डिन यी समस्याहरूलाई सम्बोधन गर्न र बाल्टिमोर काउन्टीका प्राथमिकताहरूलाई अगाडि बढाउन प्रतिबद्ध हुनुहुन्छ, त्यसका लागि म उहाँको उच्च प्रशंसा गर्न चाहन्छु ।
बाल्टिमोर काउन्टीका स्वास्थ्य आयुक्त डा. ग्रेगरी ब्रान्च कोभिड- १९ को पछिल्लो अवस्थाका बारेमा जानकारी दिन सहभागी हुनु भयो । त्यसका लागि म डा. ब्रान्चलाई धन्यवाद दिन चाहन्छु । डा. ब्रान्चले यो महामारीविरूद्ध लड्न हाम्रो काउन्टीको सफल नेतृत्व गर्नुभएकोमा म कृतज्ञ छु । यही क्रममा सबैलाई स्वास्थ्य निर्देशनहरू पालना गरिरहन पनि हार्दिक अनुरोध गर्दछु। म स्वास्थ्यकर्मीहरूलाई सम्मान गर्न र उनीहरूले गरेको उदाहरणीय कामका लागि कृतज्ञ रहन पनि सबैमा आग्रह गर्दछु । स्वास्थ्यकर्मीहरूले पछिल्ला दुई वर्षमा कडा परिश्रमका साथ धेरै कठिनाइहरूको सामना गरेका छन् । यसका लागि उनीहरू सम्मान र कृतज्ञताका हकदार छन् ।
… र, यो पनि
जोनी ओसँग ब्रेकफास्ट मिटिङ
बाल्टिमोर काउन्टीका कार्यकारी जोनी ओ.सँग ब्रेकफास्ट मिटिङ आयोजना गरियो। मेरो डिस्ट्रिक्ट ८ का सहकर्मी सिनेटर क्लाउसमेयर र विधायक ज्याक्सनसँगै गरिएको बैठकमा सहभागी हुन पाउँदा म धेरै खुशी छु ।
बैठकमा हामीले हाम्रा समुदायका प्राथमिकताहरूका बारेमा राम्ररी छलफल गर्यौ। राज्यबाट बजेट प्राप्त गरिसकेका डबल रक पार्क र लिनोभर पार्क वा पार्कभिल हाइस्कूलको नयाँ टर्फफिल्ड सुधार परियोजनालाई छिटो अगाडि बढाउन काउन्टी कार्यकारीको महत्वपूर्ण सहयोगको बारेमा चर्चा गर्दै त्यसका लागि उहाँलाई धन्यवाद पनि दियौं ।
हामीले यस वर्ष पेरी हल हाइस्कूलमा नयाँ ट्र्याक, हार्फोड पार्क र अन्य छिमेकका सामुदायिक केन्द्रहरूमा बजेट व्यवस्थाका लागि लागिपरिरहेको बतायौ । त्यसका लागि उहाँले आफ्नो समर्थन जनाउनुभयो ।
यी सबै परियोजनाको नेतृत्वदायी भूमिकाका लागि र आफ्नो व्यस्त र महत्वपूर्ण समय निकालेर हामीलाई भेट्न अन्नापोलिस आउनु भएकोमा म काउन्टी कार्यकारीलाई धन्यवाद दिन चाहन्छु।
छात्रवृत्तिका लागि आवेदन
मेरो कार्यालयले २०२२-२०२३ को छात्रवृत्तिका लागि आवेदन लिइरहेको छ :
आवेदन डिस्ट्रिक्ट ८ का मेरा सहकर्मीहरू विधायक जोसेफ बोटेलर- II र कार्ल ज्याक्सनका लागिसमेत लिइने छ। आवेदन दिने अन्तिम मिति मार्च ३१, २०२२ हो।
आवेदन फारामका लागि तपाईं यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
वा
यो QR कोड स्क्यान गर्न सक्नुहुन्छ।
आवेदन गर्नुअघि ध्यान दिनुपर्ने केही कुराहरू:
आवेदक मेरिल्याण्डको डिस्ट्रिक्ट ८ को बासिन्दा हुनुपर्छ :
त्यसका लागि तपाईं mdelect.net मा आफ्नो ठेगाना रूजु गर्न सक्नुहुन्छ । यदि तपाईं अन्य डिस्ट्रिक्टमा बस्नुहुन्छ भने, हामी तपाईंलाई त्यही डिस्ट्रिक्टका विधायकहरूमार्फत् छात्रवृत्तिको लागि आवेदन दिन सुझाव दिन्छौं ।
आवेदक मेरिल्याण्डका कलेज वा विश्वविद्यालयमा पूर्ण वा आंशिक समयको विद्यार्थी हुनुपर्छ:
हामी मेरिल्याण्ड बाहिर अध्ययन गर्न जाने विद्यार्थीलाई (कुनै विशिष्ट परिस्थिति बाहेक) छात्रवृत्ति प्रदान गर्न असमर्थ छौं।
आवेदकहरूले एकपटक मात्र आवेदन गर्नुपर्छ:
डिस्ट्रिक्ट ८ का तीन विधायकहरू (भण्डारी, बोटेलर र ज्याक्सन) ले साझा छात्रवृत्ति कोष सञ्चालन गर्नुहुन्छ। आवेदन स्वीकार गर्न र निर्णय गर्न पनि एउटै प्रणाली प्रयोग हुन्छ । तपाईंले यो फारम एकपटक, एक ठाउँमा पेश गरेपछि तीनवटै कार्यालयले समीक्षा गर्न सक्छन् । त्यसैले तीन ठाउँमा आवेदन दिन आवश्यक छैन।
ध्यान दिनुपर्ने थप कुराहरू:
विधायिकी छात्रवृत्तिहरू गैर-नवीकरणीय छन्, यसको मतलब तपाईंले प्रत्येक वर्ष पुन: आवेदन गर्नुपर्छ। फाफ्साका लागि फाइल गर्न प्रोत्साहित गरिए पनि त्यो त्यति आवश्यक छैन । यदि तपाईं फाफ्साका लागि आवेदन दिनुहुन्न भने छात्रवृत्ति पुरस्कार प्रक्रियाको लागि मेरिल्याण्ड उच्च शिक्षा आयोग (MHEC) मा एउटा एकाउन्ट खोल्नुपर्छ।
थप विवरणका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ
तपाईंसँग छात्रवृतिका बारेमा कुनै पनि जिज्ञासा वा प्रश्न भएमा निम्न इमेलहरूमा सम्पर्क गर्न सक्नुहुनेछ :
Harry.Bhandari@house.state.md.us, Joseph.Boteler@house.state.md.us, Carl.Jackson@house. state.md.us
हामी तपाईका जिज्ञासा र प्रश्नहरूको सम्बोधन गर्ने नै छौं ।
छात्रवृति र उच्च शिक्षाका लागि अग्रिम शुभकामना ।
प्रश्न, टिप्पणी वा सरोकारहरू :
तपाईंसँग कुनै प्रश्न, टिप्पणी वा सरोकारहरू छन् भने, कृपया मलाई harry.bhandari@house.state.md.us मा सम्पर्क गर्नु होला । अमेरिकी प्रजातन्त्रको मूलमन्त्र नै जनताका लागि, जनताद्वारा, जनताको हो । त्यसैले म तपाईहरूलाई सुन्न र सम्बोधन गर्न पाउँदा सधैं खुशी हुनेछु ।
तपाईहरूलाई सफलता मिलोस्, जीवन सुखमय होस्- मेरो यही शुभकामना ।