फेब्रुअरी १२-१८, २०२२
अन्नापोलिस कोराना कहरबाट बिस्तारै सामान्य हुँदैगएको महसुस भैरहेको छ। हुन त अझै पनि हामी मास्क लगाइरहेकैछौं र अन्य सावधानी पनि अपनाइरहेकैछौं। यही पृष्ठभूमीमा हामी कानून बनाउने क्रममा लागिपरेका छौं र यस क्रममा यो ऐतिहासिक कक्षमा सहकर्मीहरूसँगै पस्दा मलाई औधी खुशी लाग्छ। हामीले यो अन्तिम विधायिकी सत्रको लगभग आधा बाटो तय गरिसकेका छौं। अझै पनि, मेरो ध्यान मेरिल्याण्डका जनताको तर्फबाट थप राम्रो काम गर्नमै केन्द्रीत रहने छ।
विधायिकी बन्ड पहल

पेरी हल हाइस्कूलमा एथलेटिक सुविधा स्तरोन्नतिका लागि १० लाख डलरको बजेट ल्याउन म सिनेटर क्याथी क्लाउसमेयर र डिस्ट्रिक्ट ८ का मेरा सहकर्मीहरूसँग काम गर्दैछु। यसबाट विद्यालयको ट्र्याक पूरै स्तरवृद्धि गर्नुका साथै टेनिस कोर्ट र अन्य सुविधामा सामान्य स्तरवृद्धि गर्न सकिने छ। राज्यको पुँजीगत बजेटबाट यो रकम डिस्ट्रिक्ट ८ मा प्रवाहित भएको देख्न हामी उत्साहित छौं।
स्वास्थ्य तथा सरकार सञ्चालन समिति अपडेट
मेरो समिति, स्वास्थ्य तथा सरकार सञ्चालनमा यो साताको पूरै समय बिधेयक सुनुवाइमा बित्यो। हामीले मतदान सत्रमा धेरै विधेयकहरू पारित गर्यौं जुन पछि अधिवेशनको पूर्ण बैठकमा मतदानमा जानेछन्। यो साता समितिबाट पारित भएका विधेयकहरू निम्नानुसार छन्-
HB279: दिग्गज मामिलाहरू – सञ्चार तथा सार्वजनिक मामिलाको कार्यालय– दिग्गज पैरवी र शिक्षा ऐन
यस विधेयकले दिग्गजहरू र उनीहरूका आश्रितलाई दिग्गज मामिलासम्वन्धी विभागका कार्यहरूमा अन्य परिवर्तनका साथै उनीहरूले पाउने शिक्षा र प्रशिक्षण सुविधाका बारेमा जान्न र पहुँच पुर्याउन मद्दत गर्नेछ। सर्वसम्मतिले पारित यस विधेयकलाई सह-प्रायोजन गर्न पाउँदा म खुशी छु।
HB245: बलात्कार पीडितहरूको लागि एचआईभी संक्रमण रोक्नका लागि कार्यक्रम – समाप्ति मिति परिवर्तन र रद्द
यस विधेयकले बलात्कार पीडितहरूका लागि एचआईभी संक्रमण रोकथामको लागि सञ्चालित परीक्षण कार्यक्रमको समाप्ति मिति रद्द गर्नेछ । उपचार र अनुगमन हेरचाह प्रदायकका लागि अनुदान सीमा रद्द गर्नेछ, र गभर्नरको अपराध रोकथाम कार्यालयको लागि युवा तथा पीडित सेवाहरूको रिपोर्टिङ आवश्यकता पनि परिवर्तन गर्नेछ। सर्वसम्मतिले पारित यस विधेयकलाई सह-प्रायोजन गर्न पाउँदा म खुशी छु।
HB247: बीमा – मेडिकेयर परिपूरक नीति योजनाहरू – जन्मदिनपछि खुला नामाङ्कन अवधि
यस विधेयकले बीमाबाहकलाई उनीहरूको जन्मदिन पछि ३० दिनका लागि खुला नामांकन अवधि थप्न र उनीहरूलाई विकल्पका रूपमा त्यो सञ्जालभित्र पूरक नीति योजना उपलब्ध गराउने व्यवस्था गर्छ। म यो बिधेयकको सह-प्रायोजन गर्न पाउँदा खुशी छु।
बाल्टिमोर काउन्टी प्रतिनिधिमण्डल
यस साता बाल्टिमोर काउन्टी सार्वजनिक पुस्तकालयकी निर्देशक सोनिया अल्कान्टारा-एन्टोइन प्रतिनिधिमण्डलमा सहभागी भएर हाम्रा सार्वजनिक पुस्तकालयले समुदायलाई अनलाइन र व्यक्तिगत रूपमा अविश्वसनीय प्रोग्रामिङका साथ महामारीभरि गरेको अद्भुत कामको बारेमा प्रकाश पार्नुभयो। उहाँका अनुसार कार्यक्रमको मूल विशेषताका भनेकै स्रोतसँगको लचिलोपन र सरलता हो। पुस्तकालयले हाम्रो जीवनमा सकारात्मक प्रभाव पार्दछ। म कामना गर्दछु, यहाँहरूको जीवनमा पनि यस्तै प्रभाव परोस्।
विधायिकाले गत वर्ष विधेयक- एचबी ५१८ पारित गरेको थियो जसले स्थानीय पुस्तकालयलाई इ-बुकहरूको लाइसेन्स उपलब्ध गराउने अधिकार दिएको थियो। यो नयाँ कार्यक्रममार्फत् जो पनि पुस्तकालयसँग जोडिएर अनलाइनमा पुस्तक पढ्न सक्छन्। यसले बाहिर गएर पुस्तक किन्न वा पुस्तकालय जान नसक्ने पाठकको हातमा पठन सामग्री प्राप्त गर्न सहयोग गर्छ। म यहाँहरू सबैलाई यो अद्भुत कार्यक्रमबाट फाइदा लिन आग्रह गर्दछु।
प्रतिनिधिमण्डलमा सामेल हुनुभएकोमा निर्देशक अल्कान्टारा-एन्टोइनलाई धन्यवाद।
विशेष गरी, म मोबाइल लाइब्रेरी कानून केन्द्रका बारेमा प्रकाश पार्न चाहन्छु जसले एक सांसदको रूपमा मलाई ज्यादै नै प्रभावित पारेको छ। यो अर्को एउटा यस्तो दृष्टान्त हो जसले मानिसहरूलाई आफ्नो जीवनका आवश्यकता पूरा गर्न र चुनौतिहरूको सामना गर्न कसरी र कहाँबाट स्रोत र सहायता प्राप्त गर्न सकिन्छ भनेर जानकारी दिन्छ।
मैले सार्वजनिक पुस्तकालय सेवा सुनिश्चित नभएको हाम्रो जनसङ्ख्यालाई कसरी समेट्न सकिन्छ भनेर निर्देशक अल्कान्टारा-एन्टोइनलाई सोधें। जवाफमा उहाँले सबै पृष्ठभूमि वा परिस्थितिका मानिसका लागि पुस्तकालयको पहुँच हुनुपर्छ भन्ने कुरामा आफू प्रतिबद्ध रहेको बताउनुभयो। हाम्रा समुदायका नेताहरूमा यस्तो करुणा र समर्पणको भावना देख्न पाउँदा मलाई गर्व लाग्छ।
निर्देशक अल्कान्टारा-एन्टोइनसँगको मेरो विचार आदानप्रदान हेर्न यहाँ क्लिक गर्नुहोस्।
पार्कभिल-कार्नी, ह्वाइट मार्श र रोसेडेललगायत हाम्रा स्थानीय शाखाका निर्देशक पनि यी विशिष्ट स्थानमा प्रदान गरिएका राहदानी तथा नोटरीलगायतका सेवाहरूको बारेमा जानकारी दिन छलफलमा सहभागी हुनुभएकोमा धन्यवाद। उहाँहरूले हाम्रो समुदायका लागि गरिरहनुभएको महान कार्यको बारेमा थप जान्न पाउँदा मलाई सन्तोष लागेको छ। म यहाँहरू सबैलाई ती सेवाहरू लिन आव्हान गर्दछु।
काउन्टी सेवानिवृत्त जीवन समायोजन लागत
बाल्टिमोर काउन्टीका कार्यकारी जोनी ओल्स्जेव्स्कीले यसै साता कर्मचारी अवकाश बोर्डले जुलाई १, २०२२ देखि लागू हुनेगरी सेवानिवृत्तहरूका लागि जीवनयापनको तीन प्रतिशत लागत समायोजन गर्ने पक्षमा मतदान गरेको घोषणा गरे। पछिल्लो दशकमा, काउन्टी सेवानिवृत्तहरूले यस्तो समायोजन लागत एक प्रतिशत मात्र पाउँदै आएका थिए। त्यसैले जीवन लागत समायोजनको यो ठूलो खबर हो।
समुदायका कमजोर वर्गलाई सहयोग गर्ने यो पुनित कार्यका लागि काउन्टी कार्यकारीलाई धन्यवाद।
विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्न सक्नु हुन्छ।
सम्मान/अभिनन्दन
गनपाउडर इलिमेन्टरी स्कूलमा अफिसर क्याप्रियो खेलमैदान परियोजना सम्भव बनाउन अतुलनीय भूमिका निर्वाह गर्नुहुने कर्स्टन रोलरलाई सिनेटर क्याथी क्लाउसमेयर, काउन्टी काउन्सिलम्यान डेभिड मार्क्स र डिस्ट्रिक्ट ८ का मेरा सहकर्मी डेलिगेट कार्ल ज्याक्सनले गत सप्ताहान्त सम्मानित गर्यौ। डिस्ट्रिक्ट ८ का मेरा सहकर्मीहरूसँगै यस परियोजनाका लागि बजेट जुटाउने अभियानमा म पनि सँगै थिए। यस परियोजनालाई सफल बनाउन क्रिस्टनसँग मेरो डिस्ट्रिक्ट कार्यालय र अन्नापोलिसमा धेरैपटक बैठक र भेटघाट भएको म अहिले पनि सम्झन्छु। ती बैठकहरूकै परिणामस्वरूप गत वर्ष हामीले खेल मैदान तयार गर्न सक्यौ। यो परियोजनालाई सफल बनाउन अहोरात्र खट्ने क्रिस्टन वास्तवमै धन्यवादकी पात्र हुनुहुन्छ। उहाँलाई सम्मानित गर्न पाउँदा मलाई खुशी लागेको छ।
छात्रवृत्तिका लागि आवेदन
मेरो कार्यालयले २०२२-२०२३ को छात्रवृत्तिका लागि आवेदन लिइरहेको छ :
आवेदन डिस्ट्रिक्ट ८ का मेरा सहकर्मीहरू विधायक जोसेफ बोटेलर- II र कार्ल ज्याक्सनका लागिसमेत लिइने छ। आवेदन दिने अन्तिम मिति मार्च ३१, २०२२ हो।
आवेदन फारामका लागि तपाईं यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
वा
यो QR कोड स्क्यान गर्न सक्नुहुन्छ।
आवेदन गर्नुअघि ध्यान दिनुपर्ने केही कुराहरू:
आवेदक मेरिल्याण्डको डिस्ट्रिक्ट ८ को बासिन्दा हुनुपर्छ :
त्यसका लागि तपाईं mdelect.net मा आफ्नो ठेगाना रूजु गर्न सक्नुहुन्छ । यदि तपाईं अन्य डिस्ट्रिक्टमा बस्नुहुन्छ भने, हामी तपाईंलाई त्यही डिस्ट्रिक्टका विधायकहरूमार्फत् छात्रवृत्तिको लागि आवेदन दिन सुझाव दिन्छौं ।
आवेदक मेरिल्याण्डका कलेज वा विश्वविद्यालयमा पूर्ण वा आंशिक समयको विद्यार्थी हुनुपर्छ:
हामी मेरिल्याण्ड बाहिर अध्ययन गर्न जाने विद्यार्थीलाई (कुनै विशिष्ट परिस्थिति बाहेक) छात्रवृत्ति प्रदान गर्न असमर्थ छौं।
आवेदकहरूले एकपटक मात्र आवेदन गर्नुपर्छ:
डिस्ट्रिक्ट ८ का तीन विधायकहरू (भण्डारी, बोटेलर र ज्याक्सन) ले साझा छात्रवृत्ति कोष सञ्चालन गर्नुहुन्छ। आवेदन स्वीकार गर्न र निर्णय गर्न पनि एउटै प्रणाली प्रयोग हुन्छ । तपाईंले यो फारम एकपटक, एक ठाउँमा पेश गरेपछि तीनवटै कार्यालयले समीक्षा गर्न सक्छन् । त्यसैले तीन ठाउँमा आवेदन दिन आवश्यक छैन।
ध्यान दिनुपर्ने थप कुराहरू:
विधायिकी छात्रवृत्तिहरू गैर-नवीकरणीय छन्, यसको मतलब तपाईंले प्रत्येक वर्ष पुन: आवेदन गर्नुपर्छ। फाफ्साका लागि फाइल गर्न प्रोत्साहित गरिए पनि त्यो त्यति आवश्यक छैन । यदि तपाईं फाफ्साका लागि आवेदन दिनुहुन्न भने छात्रवृत्ति पुरस्कार प्रक्रियाको लागि मेरिल्याण्ड उच्च शिक्षा आयोग (MHEC) मा एउटा एकाउन्ट खोल्नुपर्छ।
थप विवरणका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ
तपाईंसँग छात्रवृतिका बारेमा कुनै पनि जिज्ञासा वा प्रश्न भएमा निम्न इमेलहरूमा सम्पर्क गर्न सक्नुहुनेछ :
Harry.Bhandari@house.state.md.us, Joseph.Boteler@house.state.md.us, Carl.Jackson@house. state.md.us
हामी तपाईका जिज्ञासा र प्रश्नहरूको सम्बोधन गर्ने नै छौं ।
छात्रवृति र उच्च शिक्षाका लागि अग्रिम शुभकामना ।
प्रश्न, टिप्पणी वा सरोकारहरू :
तपाईंसँग कुनै प्रश्न, टिप्पणी वा सरोकारहरू छन् भने, कृपया मलाई harry.bhandari@house.state.md.us मा सम्पर्क गर्नु होला । अमेरिकी प्रजातन्त्रको मूलमन्त्र नै जनताका लागि, जनताद्वारा, जनताको हो । त्यसैले म तपाईहरूलाई सुन्न र सम्बोधन गर्न पाउँदा सधैं खुशी हुनेछु ।
तपाईहरूलाई सफलता मिलोस्, जीवन सुखमय होस्- मेरो यही शुभकामना ।