संसद अधिवेशन २०२२ : नेपाली न्युजलेटर- १२

मार्च २६-अप्रिल १,  २०२२

हामी साँच्चै नै विधायिकी कामलाई निस्कर्षमा पुर्याउने निर्णायक घडीमा छौं। मैले यो साता आफ्ना विधेयकलाई अगाडि बढाउन यथाशक्य बहस पैरवीका लागि भरमग्दुर प्रयत्न गर्नमै बिताएँ। यो साता साँच्चिकै व्यस्त रह्यो र लामो पनि।

यही साता मेरा दुई विधेयक:  एचबी २८ र एचबी५३४- ठूलो द्विपक्षीय समर्थनका साथ सिनेटमा पारित भए, ती दुबै क्षण मेरा लागि महत्वपूर्ण थिए र तिनीहरूले मलाई खुशी पनि बनाए।

सिनेटको शिक्षा, स्वास्थ्य र वातावरणीय मामिला समितिमा मङ्गलबार मेरो एउटा विधेयकको सुनुवाइ भयो। आगामी साता सिनेटकै न्यायिक कार्यवाही समितिमा मेरो अर्को विधेयकमाथि सुनुवाइ हुँदैछ।

Sine Die भनिने यो संसदको कार्यकालको अन्तिम दिन हो, अप्रिल ११; त्यसको उल्टो दिनगन्ती शुरू भैसकेको छ। बाँकि रहेका १० दिन म मेरा विधेयक पारित गराउन र मेरा प्राथमिकतासँग मिल्दाजुल्दा तथा मेरो समुदायका आवश्यकतालाई समर्थन गर्ने सहकर्मीका विधेयकलाई पारित गर्न सक्दो सहयोग गर्नेछु।

सधैंजस्तै, यो संसद सत्रमा पनि म हाम्रो महान राज्यका बासिन्दा, परिवार र समुदायको जीवन राम्रो बनाउने विधायिकी काममै दत्तचित्त भएर लागेँ। त्यसका केही सुखद् परिणामहरू देखिएका छन्। यसो भन्न पाउँदा मलाई स्वभावत: खुशी लाग्छ।

सिनेटबाट पारित

यो साता मेरा दुई विधेयक सिनेटमा अत्यधिक द्विपक्षीय समर्थनका साथ पारित भए र गभर्नरको हस्ताक्षरका लागि उनको डेस्कमा पुगेका छन्। एचबी २८, जसले फार्मासिस्टहरूलाई निकोटिन प्रतिस्थापन थेरापीहरू सिफारिस गर्ने अधिकार दिन्छ, तल्लो सदनमा सर्वसम्मतिले पारित भएको थियो, सिनेटमा ४५-१ को भारी बहुमतले पारित भयो। यसैगरी एचबी५३४, जसले स्व-मापन रक्तचाप निगरानी यन्त्र खरिद गर्न मेडिकेड कभरेज प्रदान गर्दछ,  ४७-० ले सर्वसम्मतले पारित भयो। यो विधेयक तल्लो सदनमा पनि सर्वसम्मतिले पारित भएको थियो।

एचबी २८ यही अक्टोबरमा लागु हुन्छ भने एचबी५३४ आउने वर्ष २०२३ को जनवरीदेखि कार्यान्वयनमा आउँछ। एक अध्ययनअनुसार हाम्रो राज्यका आठ लाख ५० हजार वयस्कले चुरोट पिउँछन् र लगभग १५ लाख मानिस उच्च रक्तचापसँग संघर्ष गरिरहेका छन्। मलाई आशा एवं विश्वास छ, यी ऐनहरूले मेरील्याण्डबासीलाई स्वस्थ जीवन जिउन प्रत्यक्ष रूपमा मदत गर्नेछन्। यी विधेयकहरूलाई कानून बनाउने क्रममा समर्थन गर्ने सम्पूर्ण सहकर्मीहरूलाई समर्थनको लागि धेरै धेरै धन्यवाद। यो कानून पारित गर्नको लागि भूमिका खेलेकोमा म गर्व गर्छु।

सिनेटमा सुनुवाई

यो साता सिनेटको, शिक्षा, स्वास्थ्य, र वातावरणीय मामिला समितिमा मेरिल्याण्डको घर र अस्पताल शिक्षण कार्यक्रमको बल र कमजोरीहरूको अध्ययन स्थापित गर्न मैले प्रस्तुत गरेको एचबी १३२७ माथि सुनुवाइ भयो। तल्लो सदनबाट सर्वसम्मतिले पारित भएको यो विधेयकमा कुनै पनि विरोध नभएकोले म यो विधेयक समितिबाट पारित हुनेमा विश्वस्त छु।

 तल्लो सदनबाट पारित

यो संसद सत्रमा हामी प्रतिनिधिसभाका सदस्यहरूले हाम्रो राज्यलाई नयाँ युगमा अगाडि बढ्न मद्दत गर्ने केही महत्वपूर्ण विधेयकहरूमा ठूलो मेहनत गरेका छौं। ती विधेयकहरू विधायिकी प्रक्रियाहरू पूरा गरी तल्लो सदनबाट पारित भएर माथिल्लो सदन सिनेटमा पुगेका छन्। ती विधेयकमध्ये केही यस प्रकार छन् :

जलवायु समाधान तत्काल ऐन २०२२
सन् २०४५ सम्ममा राज्यको हरितगृह ग्यास उत्सर्जन नेट-शून्यमा पुर्याउने लक्ष्यका साथ ल्याइएको यस विधेयकलाई समर्थन गर्न पाउँदा म गर्व महसुस गर्छु। यस विधेयकका लागि समिति र संसद सत्रको नेतृत्वका लागि सहजकर्ताका भूमिकामा ऐतिहासिक योगदान गर्न पाउँदा मैले सम्मानित भएको महसुस गरें। विधेयकले भावी पुस्ताका लागि सफा र स्वस्थ विश्व नासोका रूपमा छोड्न मद्दत गर्नेछ भन्नेमा म विश्वस्त छु।

द्विपक्षीय कर राहत योजना
यस योजनाले सेवानिवृत्त, साना व्यवसाय र मेरील्याण्डका सर्वसाधारण परिवारका लागि १८ करोड ६० लाख कर राहतका लागि मार्गप्रशस्त गर्दछ। यसले नयाँ कामदार भर्ना गर्न, भएका कादारलाई निरन्तरता दिन व्यवसायलाई प्रोत्साहित गर्छ; सार्वजनिक सुरक्षा सेवामा पुन: लगानी गर्न, वयस्क दन्त कभरेजको विस्तार गर्न, इन-होम हेरचाह गर्न तथा अटिज्म सेवा, र बाल हेरचाहको पहुँचलाई सहज बनाउँछ। यसले हाम्रो राज्यका सबै समुदाय र परिवारलाई माथि उठाउन धेरै मदत गर्नेछ। म यो विधेयक पारित गराउन समर्थन गर्न पाउँदा गर्व महसुस गर्छु।

पारिवारिक बजेट योगदान
माथि उल्लिखित कर राहत योजनाको मुख्य अंशका रूपमा यो विधेयकले डायपर, कार सिट, बच्चाका बोतलहरू,  दन्त स्वच्छता उत्पादनहरू, मधुमेह हेरचाह साधनहरू र अन्य चिकित्सा उत्पादनहरू जस्तै: थर्मोमिटर, पल्स अक्सिमिटर र मेडिकल ग्रेड फेस मास्क आदिका साथै चिकित्सा, व्यक्तिगत हेरचाह र बाल हेरचाह उत्पादनका लागि राज्य आयकरमा छुट प्रदान गर्दछ। यसले महामारीबाट पार पाउँन र हाम्रो राज्यको स्वास्थ्य पुनर्निर्माण गर्न सक्दो प्रयास गर्न परिवारहरूलाई महत्वपूर्ण सहयोग पुर्याउँछ।

बाल्टिमोर काउन्टी – विद्यालय बजेट

नर्थइस्ट इलेमेन्टरी स्कूलको निर्माण शुभारम्भ, अगस्ट, २०२१

बाल्टिमोर काउन्टीले रेड हाउस रन इलिमेन्टरी स्कूल प्रतिस्थापन गर्न, पाइन ग्रोभ मिडल स्कूल थप्न र टावसन हाइस्कूलको डिजाइनसहितको प्रयोजनका लागि ७ करोडको कोष स्थापना गरेको देखेर म धेरै उत्साहित भएको छु। निर्माणाधीन नर्थइस्ट इलेमेन्ट्री र मिडिल स्कूलका अतिरिक्त, हाम्रो क्षेत्रका विद्यालय र विद्यार्थीका लागि यो एक ठूलो कदम हो र यसले आगामी दिनमा यो क्षेत्रकै शैक्षिक विकासमा महत्व राख्नेछ।

सन् २०२० मा म ‘२.२ बिलियन बिल्ट टु लर्न एक्ट’ सहित ऐतिहासिक विद्यालय निर्माण कोषको लागि गर्वका साथ कृतसंकल्पत भएर लागेको थिएँ, एक शिक्षक पृष्ठभूमिको विधायक भएकाले मेरो लागि शिक्षा क्षेत्रको यो योजना सदैव उच्च प्राथमिकतामा रहेको थियो। यी लगानीहरूले हाम्रा बाबुनानीहरूलाई सफलता हासिल गर्न आधारस्तम्भको रूपमा योगदान दिनेछन्।

प्रश्नटिप्पणी वा सरोकारहरू :

तपाईंसँग कुनै प्रश्न, टिप्पणी वा सरोकारहरू छन् भने, कृपया मलाई harry.bhandari@house.state.md.us मा सम्पर्क गर्नु होला । अमेरिकी प्रजातन्त्रको मूलमन्त्र नै जनताका लागि, जनताद्वारा, जनताको हो । त्यसैले म  तपाईहरूलाई सुन्न र सम्बोधन गर्न पाउँदा सधैं खुशी हुनेछु ।

संसद अधिवेशन २०२२ : नेपाली न्युजलेटर- १२

Become a Part of Our Team

Support Us For Your Better Future