मार्च ४-११, २०२२
यो साता पनि अत्यन्त व्यस्त रह्यो। मुख्य मुद्दाहरूमा लामो बहस, प्याक कमिटी सत्रहरू र मेरा आफ्नै तीन विधेयकको सुनुवाइ व्यस्तता कारण थिए।
यही साता स्व-मापन रक्तचाप निगरानी उपकरणहरूका लागि मेडिकेड कभरेज प्रदान गर्ने मेरो विधेयक उपसमितिमा पारित भयो। यो दृश्यले मलाई उत्साहित बनायो। अब यो विधेयक समितिमार्फत दोस्रो छलफलको लागि संसदको पूर्ण बैठकमा जाने छ। हामी यो विधेयक पारित गर्ने बाटोमा छौं।
अत्यन्त व्यस्तताका बाबजुद पनि म मेरो विधायिका, निर्वाचन क्षेत्र र समुदायका प्राथमिकताहरू सम्बोधन गर्न कडा मेहनत गरिरहेको छु। म तपाईंको धैर्यता र समर्थनको सदैव कदर गर्दछु। मेरो कार्यालयमा हालै सम्पर्क गर्नुहुने सबैलाई मेरो धन्यवाद।
एचबी १२३८ : चलचित्र थिएटर खुला क्याप्सन
आर्थिक मामिला समितिले बुधवार मेरिल्याण्डमा चलचित्रलाई अझ पहुँचयोग्य बनाउँन चलचित्र प्रदर्शन गर्दा खुला क्याप्शन राख्नुपर्ने सम्बन्धी मेरो विधेयक एचबी १२३८ माथि सुनुवाइ गर्यो। विधेयकमा राज्यका अधिकांश चलचित्र घरहरूले सातामा दुई चलचित्रका लागि खुल्ला क्याप्शन राख्नुपर्ने प्रावधान गरिएको छ। यसबाट मुलत: बहिरा र सुन्न नसक्ने समुदाय लाभान्वित हुने भए पनि यसबाट लाभान्वित हुनेको दायरा ठूलो छ। क्याप्सनले बालबालिका र अंग्रेजी भाषा सिक्ने कुनै पनि उमेरकालाई साक्षर बनाउन सहयोग गर्छ। यी समूहहरूलाई स्वागत गरेर हाम्रा चलचित्रघरहरूलाई महामारीको नोक्सान भर्पाई गर्न मद्दत गर्न सकिन्छ।
यस विधेयकको समर्थनमा वयान दिन मसँग सामेल हुने सबैलाई धन्यवाद। हामीले बहिरा र सुन्ने व्यक्ति दुवैबाट सुन्यौं, र म अधिवक्ताहरूको प्रशंसा गर्छु जसले यस विधेयकका लागि समर्थन निर्माण गर्न ठूलो मेहेनत गरेका छन्। म एक अनुकूल प्रतिवेदनको लागि पर्खिरहेको छु।
सुनुवाइ हेर्न यहाँ क्लिक गर्नुहोस्।
एचबी १३२७ : घर तथा अस्पताल शिक्षण कार्यक्रम
बिहीबार, तरिका तथा साधन समितिले भर्चुअल सिकाइको लामो अवधिपछि विद्यार्थीहरूलाई कसरी कक्षाकोठामा फर्काउने भन्ने कुरामा ध्यान केन्द्रित गर्दै विद्यार्थीहरूका लागि राज्यको घर तथा अस्पताल शिक्षण कार्यक्रमको अध्ययनलाई अधिकार दिने मेरो विधेयक एचबी १३२७ माथि सुनुवाइ गर्यो।
यो विधेयकले विद्यार्थीहरूका लागि घर तथा अस्पताल शिक्षण कार्यक्रम र यसमा संलग्न विद्यार्थीहरूको लागि शिक्षण सेवा तथा संक्रमण योजनाका बारेमा राज्यको शिक्षा विभागले अध्ययन गरी सिफारिस गर्दछ। अहिलेको अवस्थामा कार्यक्रमले खासगरी व्यवहार वा भावनात्मक अवस्थाले विद्यालय जान गाह्रो बनाउँने विद्यार्थीहरूलाई कक्षाकोठाको सिकाइ वातावरणमा पुन: सहभागी हुन तयार गर्दैन। त्यसका लागि हामीले के गर्नुपर्छ भन्ने बारेमा विधेयकले दिशानिर्देश गर्छ।
यस विधेयकको समर्थनमा वयान दिन सामेल हुनुहुने तारा साक्षीलाई धन्यवाद। समितिका मेरा सहकर्मीहरूका कुनै पनि विरोध र महत्त्वपूर्ण चासोहरू नभएको देख्दा मलाई खुशी लाग्यो। म एक अनुकूल प्रतिवेदनको प्रतिक्षा गरिरहेको छु।
सुनुवाइ हेर्न यहाँ क्लिक गर्नुहोस्।
विधेयक १३४४: सागर घिमिरे ऐन
न्यायिक समितिमा चरम जोखिममा परेका व्यक्तिहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सुरक्षा आदेशहरूको कार्यान्वयनको अध्ययन गर्न कार्यदल गठन गर्ने मेरो विधेयकमाथि विहीबार सुनुवाइ भयो।
सबै हिसाबले हेर्दा, २४ वर्षीय सागर घिमिरे उज्ज्वल भविष्य भएका एक प्रतिभाशाली युवा थिए। साउथ क्यारोलाइनाको क्लाफ्लिन विश्वविद्यालयबाट केही समयअघि कम्प्युटर साइन्समा स्नातक गरेका उनी डेटा वैज्ञानिक बन्न चाहन्थे। त्यसैका लागि उनी उच्च शिक्षाको आशा लिएर बाल्टिमोर काउन्टी सरे। र, वुडलनमा एक पारिवारिक साथीको घरमा बसोबास गरिरहेको बेला अनैतिक तथा हिंसात्मक व्यवहारको इतिहास भएको एक छिमेकीको गोलीप्रहारबाट मारिए।
बन्दुकधारी कानून प्रवर्तनको नजरमा थियो। ऊ छिमेकीहरूले जासुसी गरेका कारण आफू कानून प्रवर्तनको नजरमा परेको ठान्थ्यो र छिमेकीहरूसँग रूष्ट थियो। ऊ छिमेकीहरूलाई धम्क्याउने र डराउने व्यवहार गर्थ्यो। उसको व्यवहारबाट आजित एक छिमेकीले प्रहरीकोमा रिपोर्ट पनि गरेका थिए। उनले द बाल्टिमोर सनलाई छरछिमेकको अवस्था “टिकिङ बम जस्तै” भएको बताएका थिए।
यस्तो अवस्थाका बारेमा जानकार हुँदाहुँदै पनि कानून लागु गर्ने निकायहरूले यो घटनालाई रोक्न सक्ने कुनै कदम चालेनन्। त्यसैल गर्दा सागरसहित अन्य तीनजना छिमेकीहरू मारिए, चारवटा घर जलेर खरानी भए, शंकर अधिकारीलगायत अन्य केही घाइते भए।
मैले यस बारेमा हाम्रो स्थानीय कानून प्रवर्तन, साथै हाम्रो बाल्टिमोर काउन्टी राज्यका अधिवक्ता र काउन्टी कार्यकारीको गम्भीर ध्यानाकृष्ट गरें। तर, कतैबाट पनि स्पष्ट जवाफ पाउँन सकिन। र, अन्तत: यो विधेयक ल्याउने निर्णयमा पुगें। मलाई आशा एवं विश्वास छ, यसले यो घटनालाई सम्बोधन गर्नेछ र यससँग सम्बन्धित धेरै प्रश्नहरूको जवाफ पाउँने क्रममा महत्वपूर्ण कदम हुनेछ।
यो कानून प्रवर्तन, मानसिक स्वास्थ्य समर्थन, र बन्दुक नियमनलगायतका महत्वपूर्ण पक्षसँग सम्बन्धित एक जटिल मुद्दा हो। र, यसका कारकहरूको बारेमा बुझ्न थप गहिरो अध्ययन आवश्यक छ।
विधेयक १३४४ ले समुदायका लागि खतराको प्रतिनिधित्व गर्नेहरूको हातबाट बन्दुक बाहिर राख्न चरम जोखिम सुरक्षा आदेश कार्यान्वयनको समीक्षा गर्न एक उच्चस्तरीय कार्यदल गठन गर्नेछ। कार्यदलले मानसिक स्वास्थ्य समस्या भएका त्यस्ता व्यक्तिहरूलाई आवश्यक मानवीय सहायतासँग जोड्ने तरिकाहरूको सिफारिस पनि गर्नेछ।
बयान दिन सामेल भएका साक्षीहरू, पीडितहरू र परिवारका सदस्यहरूलगायत जसले घटनाको दुखद घटनाहरूलाई पुन: जीवित पार्नु परेको थियो, उहाँहरूलाई सबैलाई म धन्यवाद ज्ञापन गर्दछु। विधेयकले अनुकूल प्रतिवेदन प्राप्त गर्ने कुरा सुनिश्चित गर्न समितिका सदस्यहरूसँग मिलेर काम गर्न म सदैव तत्पर रहने छु।
सुनुवाइ हेर्न यहाँ क्लिक गर्नुहोस्।
हुलाक सेवा अपडेट
अमेरिकी हुलाक सेवा (यूएसपीएस)को असक्षमताको बारेमा चिन्ताहरू सम्बोधन गर्न मद्दत गर्नुभएकोमा सिनेटर बेन कार्डिन र क्रिस भान होलेन, साथै कंग्रेस सदस्यहरू डच रुपर्सबर्गर, जोन सार्बनेस र क्वेईसी एमफुमलाई धन्यवाद।
यो साता, हुलाक सेवा सुधार ऐन सिनेटमा १९ का विरूद्ध ७९ मतका साथ पारित भयो र राष्ट्रपतिको डेस्कमा जाने क्रममा छ। यसले हुलाक सेवामा आमूल परिवर्तन ल्याउन १०७ करोड लगानी गर्नेछ। यो बिलले समयमै बिलहरू तिर्न, प्रिस्क्रिप्शनहरू पुन: भर्न, र अन्य आधारभूत सेवाहरू पाउँन अझै पनि हुलाकमाथि नै भरपरिरहेका मेरिल्याण्डवासीलाई ठूलो सहयोग पुग्नेछ। यसले मलाई उत्साहित बनाएको छ, खुशी बनाएको छ।
गत वर्ष, मैले हुलाक सेवा (युएसपीएस)को पार्कभिल शाखाका प्रबन्धक र बाल्टिमोर डिस्ट्रिक्टका प्रतिनिधिहरूसँग छलफल गरेको थिएँ। मेरो डिस्ट्रिक्ट ८ का सहकर्मीहरूसँग मिलेर मैले हाम्रा सिनेटर र कंग्रेस प्रतिनिधिलाई सहयोगको लागि अनुरोध गर्दै औपचारिकपत्र पठाएको थिएँ। सिनेटर भान होलेनले यसलाई उच्च प्राथमिकता दिने मलाई वचन नै दिएका थिए। सिनेटर होलेन र सहकर्मीहरूलाई यो समर्पित कामका लागि धन्यवाद।
नागरिक सम्मान: कब स्काउट प्याक २४७
गत सप्ताहान्तमा कब स्काउट प्याक २४७ को एरो अफ लाइट समारोह आयोजना भयो। समारोहमा म सिनेटर क्याथी क्लाउजमेयर, डेलिगेट कार्ल ज्याक्सन र काउन्सिलम्यान डेभिड मार्क्ससँगै सहभागी हुन पाएँ, मेरो लागि यो एक विशेष र रोमाञ्चक सहभागिता थियो।
केही वर्षयता नयाँ पुस्ताका नेताहरूको समर्पण र लगनशीलताले मलाई औधी प्रेरित गरिरहेको छ। हामी सबैले यी अद्भुत युवा व्यक्तित्वहरूको उपलब्धिमा गर्व गर्न सक्छौं। उहाँहरू र उहाँहरूका परिवार हाम्रो समुदायमा हुनु हाम्रो लागि सौभाग्यको विषय हो।
बधाई छ, स्काउट्स!
छात्रवृत्तिका लागि आवेदन
मेरो कार्यालयले २०२२-२०२३ को छात्रवृत्तिका लागि आवेदन लिइरहेको छ :
आवेदन डिस्ट्रिक्ट ८ का मेरा सहकर्मीहरू विधायक जोसेफ बोटेलर- II र कार्ल ज्याक्सनका लागिसमेत लिइने छ। आवेदन दिने अन्तिम मिति मार्च ३१, २०२२ हो।
आवेदन फारामका लागि तपाईं यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
वा
यो QR कोड स्क्यान गर्न सक्नुहुन्छ।
आवेदन गर्नुअघि ध्यान दिनुपर्ने केही कुराहरू:
आवेदक मेरिल्याण्डको डिस्ट्रिक्ट ८ को बासिन्दा हुनुपर्छ :
त्यसका लागि तपाईं mdelect.net मा आफ्नो ठेगाना रूजु गर्न सक्नुहुन्छ । यदि तपाईं अन्य डिस्ट्रिक्टमा बस्नुहुन्छ भने, हामी तपाईंलाई त्यही डिस्ट्रिक्टका विधायकहरूमार्फत् छात्रवृत्तिको लागि आवेदन दिन सुझाव दिन्छौं ।
आवेदक मेरिल्याण्डका कलेज वा विश्वविद्यालयमा पूर्ण वा आंशिक समयको विद्यार्थी हुनुपर्छ:
हामी मेरिल्याण्ड बाहिर अध्ययन गर्न जाने विद्यार्थीलाई (विशिष्ट परिस्थितिबाहेक) छात्रवृत्ति प्रदान गर्न असमर्थ छौं।
आवेदकहरूले एकपटक मात्र आवेदन गर्नुपर्छ:
डिस्ट्रिक्ट ८ का तीन विधायकहरू (भण्डारी, बोटेलर र ज्याक्सन) ले साझा छात्रवृत्ति कोष सञ्चालन गर्नुहुन्छ। आवेदन स्वीकार गर्न र निर्णय गर्न पनि एउटै प्रणाली प्रयोग हुन्छ । तपाईंले यो फारम एकपटक, एक ठाउँमा पेश गरेपछि तीनवटै कार्यालयले समीक्षा गर्न सक्छन् । त्यसैले तीन ठाउँमा आवेदन दिन आवश्यक छैन।
ध्यान दिनुपर्ने थप कुराहरू:
विधायिकी छात्रवृत्तिहरू गैर-नवीकरणीय छन्, यसको मतलब तपाईंले प्रत्येक वर्ष पुन: आवेदन गर्नुपर्छ। फाफ्साका लागि फाइल गर्न प्रोत्साहित गरिए पनि त्यो त्यति आवश्यक छैन । यदि तपाईं फाफ्साका लागि आवेदन दिनुहुन्न भने छात्रवृत्ति पुरस्कार प्रक्रियाको लागि मेरिल्याण्ड उच्च शिक्षा आयोग (MHEC) मा एउटा एकाउन्ट खोल्नुपर्छ।
थप विवरणका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ
तपाईंसँग छात्रवृतिका बारेमा कुनै पनि जिज्ञासा वा प्रश्न भएमा निम्न इमेलहरूमा सम्पर्क गर्न सक्नुहुनेछ :
Harry.Bhandari@house.state.md.us, Joseph.Boteler@house.state.md.us, Carl.Jackson@house. state.md.us
हामी तपाईका जिज्ञासा र प्रश्नहरूको सम्बोधन गर्ने नै छौं ।
छात्रवृति र उच्च शिक्षाका लागि अग्रिम शुभकामना ।
प्रश्न, टिप्पणी वा सरोकारहरू :
तपाईंसँग कुनै प्रश्न, टिप्पणी वा सरोकारहरू छन् भने, कृपया मलाई harry.bhandari@house.state.md.us मा सम्पर्क गर्नु होला । अमेरिकी प्रजातन्त्रको मूलमन्त्र नै जनताका लागि, जनताद्वारा, जनताको हो । त्यसैले म तपाईहरूलाई सुन्न र सम्बोधन गर्न पाउँदा सधैं खुशी हुनेछु ।
तपाईहरूलाई सफलता मिलोस्, जीवन सुखमय होस्- मेरो यही शुभकामना ।