संसद अधिवेशन २०२२ : नेपाली न्युजलेटर- ३

हामीले एउटा महत्वपुर्ण साता बिताएका छौं। हामी यो साता बुधवार र बिहीबार संसद कक्षमा मतदानका लागि सहभागी भयौ। म लगभग सबै दिन स्वास्थ्य र सरकारी सञ्चालन समितिका बैठकहरूमा सहभागी भएँ।

मैले यो साता थप दुई बिधेयक र संसदीय अनुबन्ध पहल (लेजिस्लेटिव बण्ड इनिसियटिब्स)को लागि अनुरोध फाइल दर्ता गरें। यसो गर्न पाउँदा मलाई गर्व लागेको छ। हामीसँग विधेयक र संसदीय अनुबन्ध पहलका लागि अनुरोध फाइलिङ गर्ने समयसीमा अझै केही साता बाँकि छ। हेरौ, अझै केही गर्न सकिन्छ कि?, हाम्रा गतिविधिलाई हेरिरहनु होला । तपाईसँग केही भए, त्यो पनि हामीलाई जानकारी गराउनु होला।

स्वास्थ्य र सरकार सञ्चालन समिति

हामीसँग यस साता स्वास्थ्य र सरकार सञ्चालन समितिका बैठकहरूको व्यस्त कार्यसूची थियो। तर म चाँहि विशेष गरी साइबर सुरक्षासम्बन्धी बैठकको छलफलमा संलग्न भएँ।

यसअघि जनवरी १३ मा हाम्रा मुख्य सूचना सुरक्षा अधिकारी चिप स्टिवर्टले राज्यले रयानसमवेयर आक्रमणको अनुभव गरेको पुष्टी गर्दै यसले राज्यले प्रदान गर्दै आएका धेरै महत्वपूर्ण सेवाहरू अवरुद्ध भएको जानकारी दिएका थिए। आक्रमणको अनुसन्धान चलिरहेको बताउँदै उनले साइबर आक्रमणको धम्की दिने पक्षले मागेको रकम राज्यले भुक्तानी नगरेको पनि जानकारी दिए। स्टिवर्टका अनुसार, राज्यले आफ्ना सूचनाहरू तुरून्तै नियन्त्रणमा लिएर वेबसाइटहरू र अनलाइन प्रणालीहरूलाई अलग गर्ने कार्य गर्‍यो। अहिलेसम्म कुनै पनि सूचनामा अनधिकृत पहुँच वा अधिग्रहण गरेर असर पुर्याइएको कुनै प्रमाण भेटिएको छैन।

यो साता, मैले मेरिल्याण्ड साइबर सेक्युरिटी परिषदद्वारा हाम्रो राज्यको साइबरसुरक्षा सञ्चालनको फलो-अप जानकारी प्राप्त गरे। यसले मलाई अत्यन्तै खुशी बनाएको छ। परिषदले ‘राज्यको सम्पूर्ण’ दृष्टिकोणद्वारा सूचित राज्यव्यापी रणनीतिक योजना विकास गर्न सिफारिस गर्छ। म साइबर सुरक्षामा विशेषज्ञता हासिल गरेको व्यावसायिक जनशक्ति उत्पादन गर्ने सन्दर्भमा अनुसन्धान गर्न धेरै उत्सुक छु।

मलाई विश्वास छ, यससँग सम्बन्धित शैक्षिक कार्यक्रमको संरचनाले यसको विकासलाई सहज बनाउन सक्छ, र आधुनिक युगमा यी चुनौति सामना गर्ने हाम्रो राज्यको क्षमतामा सुधार गर्न सक्छ। थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्।

हामीले यो साता निम्न विधेयकहरूमाथि विचार विमर्श गर्यौं :

खुला बैठक विधेयक – सूचनाहरू, बन्द सत्रहरू, र वैठक निर्णयहरू – अवधारण अवधिहरू, अनलाइन पोस्टिङ, र सार्वजनिक निरीक्षण
यो विधेयकले मेरिल्याण्डको खुला बैठक ऐन (ओएमए) अन्तर्गत सार्वजनिक निकायले सार्वजनिक सभा वा बैठक बन्द गर्न दिने पूर्वसूचना वा लिखित बयानको प्रतिलिपि राख्नुपर्ने समयावधि एकदेखि तीन वर्षसम्म बढाउनेछ।

व्यवहारजन्य स्वास्थ्य संकट सम्बोधनसँग सम्बन्धित सेवाहरू र सार्वजनिक सुरक्षासँग सम्बन्धित उत्तरका टिपोटहरूको – परिमार्जन
यो विधेयकले संकटमा परेका व्यक्तिहरूका लागि व्यवहारजन्य स्वास्थ्य संकट सम्बोधनसँग सम्बन्धित सेवा अनुदान कार्यक्रम कोषका लागि मेरिल्याण्ड स्वास्थ्य विभागले अनुरोध गर्ने प्रस्तावमा कानून प्रवर्तन अन्तरक्रियालाई कम गर्ने मापदण्डहरू समावेश गर्न सहजीकरण गर्नेछ।

अन्तरराज्य चिकित्सा लाइसेन्स कम्प्याक्ट – अवधि विस्तार र रिपोर्टिङ
यस विधेयकले अन्तरराज्य चिकित्सा लाइसेन्स कम्प्याक्टको समाप्ति मिति र कम्प्याक्टसँग सम्बन्धित कानूनका अन्य प्रावधानहरूको समयावधि सेप्टेम्बर ३०, २०२२ देखि  सेप्टेम्बर ३०, २०२७ सम्म विस्तार गर्नेछ।

२०२२ विधेयक शीर्षक

हार्फोर्ड पार्क सामुदायिक केन्द्र संसदीय अनुबन्ध पहल

हार्फोर्ड पार्क सामुदायिक केन्द्रमा अत्यावश्यक सेवा सुधारहरूको लागि संसदीय अनुबन्ध पहल अनुरोध फाइल गर्न पाउँदा म गौरवान्वित भएको छु। राज्यको पुँजीगत खर्च बजेटमा समावेश हुने यो कोषले लिनवुड रोडमा रहेको सामुदायिक केन्द्रमा महत्वपूर्ण छाना प्रतिस्थापन गर्नुको साथै एडीए मापदण्डमा भवनका मुख्य सुविधाहरूको स्तरवृद्धि गर्नेछ।

हार्फोर्ड पार्क सामुदायिक केन्द्र यससँग सम्बन्धित स्थानियबासीका आवश्यकता पूरा गर्न बलियो आधारमा हुने भएकाले यो कोषको स्वीकृति र कार्यान्वयन भएको हेर्न म आतुर छु। हार्फोर्ड पार्कका कर्मशील सामुदायिक नेताहरूलाई उहाँहरूको कडा परिश्रम र समर्पणको लागि, र डेलिगेट कार्ल ज्याक्सन र सिनेटर क्याथी क्लाउजमेयरलाई क्रमश: सह-प्रायोजन र क्रस-फाइलिङका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छु।

 बाल्टिमोर काउन्टी प्रतिनिधिमण्डल

बाल्टिमोर काउन्टीका कार्यकारी जोन ओल्स्जेव्स्की, जुनियर

मैले बाल्टिमोर काउन्टी प्रतिनिधिमण्डलको बैठकहरू सधैं नै मेरो समुदायहरूलाई असर गर्ने मुद्दाहरूमा ध्यान केन्द्रित गर्न उत्पादक र जानकारीमूलक भएको पाउँदै आएको छु। यस क्रममा यो साता बाल्टिमोर काउन्टीका कार्यकारीको प्रस्तुतीसहित काउन्टीका मेरा सहकर्मीहरूसँग काउन्टीसँग सम्बन्धित केही विशिष्ट विधेयकहरूको सुनुवाइमा सामेल हुन पाउँदा खुसी लाग्यो। यो अत्यन्तै महत्वपूर्ण छलफलमा सहभागी हुनुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दछु।

म विशेष गरी बाल्टिमोर काउन्टीका कार्यकारी जोन ओल्स्जेव्स्की, जुनियरलाई हाम्रो काउन्टी र समुदायहरूप्रतिको समर्पण र निम्न पहलहरूका लागि धन्यवाद दिन चाहन्छु।

विद्यालयको भौतिक संरचना निर्माणको सुदृढीकरण

म हाम्रा विद्यार्थीहरूलाई भीडभाड भएको कक्षाकोठामा सिटको लागि लडिरहेको हेर्न चाहन्न। म काउन्टीको विद्यालय सुविधाहरूमा सुधार गर्ने प्रतिबद्धताको कदर गर्दछु, जसमा आगामी १५ वर्षमा २.५ बिलियन खर्च गर्ने योजना र २०२० मा संसद अधिवेशनमा हामीले पारित गरेको राज्यको बिल्ट टु लर्न ऐनअन्तर्गत १० वर्षमा ४० मिलियन डलरको भारी रकम खर्च गर्ने योजना पनि पर्छन्।

प्रारम्भिक बाल्यावस्था शिक्षामा विस्तार
काउन्टीमा प्रि-के विस्तार गर्ने योजनाले हाम्रो प्रारम्भिक बाल्यकाल शिक्षा सुविधाहरूमा परिष्कृत सुरक्षा र सुविधाहरूमा थप लगानीसहित थप तीन हजार विद्यार्थीलाई प्रारम्भिक शिक्षा प्रदान गरिने छ।

पार्क र खुला ठाउँमा लगानी हामी हाम्रो राज्य र स्थानीय बजेटबाट ७५ मिलियनको कीर्तिमानी बजेट बिनियोजन गर्न तत्पर छौं। मैले हाम्रो काउन्टी कार्यकारीलाई माटोको क्षयीकरण रोक्ने मुद्दामा ध्यान दिन आग्रह गरेको छु, जसले हाम्रो स्थानीय वातावरणीय स्थिरता, पानीको गुणस्तर र हाम्रा पार्कहरूको पहुँचमा प्रभाव पार्छ।

दिगोपनका लागि प्रयास
यसका लागि हाम्रा रिसाइक्लिङ कार्यक्रम र विद्युतीय सवारी साधनको प्रयोग बढाउनेलगायतका समग्र दृष्टिकोणको आवश्यकता छ। २०२६ सम्ममा १०० प्रतिशत नवीकरणीय ऊर्जामा परिवर्तित हुने महत्वाकांक्षी लक्ष्य भेटाउन हाम्रो काउन्टीले गरिरहेको काम देख्दा मलाई गर्व लाग्छ।

ठोस फोहोर सङ्कलन पुन: वृद्धि
हामी सबैसँग रद्दी टोकरी (ट्रयास क्यान) छ, र हामी सबै यसलाई सजिलैसँग र कुनै बाधा व्यवधान बिना सङ्कलन गर्न चाहन्छौं। हामी बासिन्दाहरूका आवश्यकता नयाँ बल्क सङ्कलन कार्यक्रम र अन्य परिवर्तनहरूले  अझ राम्रोसँग सम्बोधन हुनेछन्।

नयाँ सार्वजनिक ट्रान्जिटहरूको विकल्प लागू
टावसन लुप सेवाले डिस्ट्रिक्ट ८ मा रहेका हाम्रा समुदायलाई फराकिलो टावसन मेट्रोसँग जोड्नेछ। यसबाट यात्रु, व्यवसाय र परिवारहरू लाभान्वित हुनेछन्।

व्यवहारजन्य स्वास्थ्य स्रोत सुधार
हाम्रो काउन्टीले मानसिक तथा व्यवहारजन्य स्वास्थ्य संकटहरूलाई सम्बोधन गर्न कानून प्रवर्तनसँग काम गर्दै मोबाइल संकट टोलीहरू विस्तार गर्नेछ।

कोभिड-१९ : प्रयत्न जारी
अझै ढुक्क हुने अवस्था छैन

यी सबैका अतिरिक्त, म काउन्टी कार्यकारी र उहाँको टोलीलाई जारी कोभिड-१९ महामारीलाई सम्बोधन गर्न गरिएका पारदर्शी र लगनशील प्रयासहरूको लागि धन्यवाद दिन चाहन्छु। हामीले भर्खरको ओमिक्रोन लहरको सबैभन्दा नराम्रोसँग सामना गरेको जस्तो देखिन्छ। तर, हामी सबैले मास्क लगाउने, जोखिमपूर्ण व्यवहारलाई पुनर्विचार गर्ने, र सबैभन्दा पहिलो कुरा त खोप लगाउनेजस्ता जिम्मेवारीहरू निर्वाह गर्नुपर्छ।

बाल्टिमोर काउन्टीको जनसङ्ख्याको २० प्रतिशतले अझै पनि खोप लगाएको छैन। यिनै खोप नलगाएका मानिस नै कोभिड-१९ संक्रिमित भएर अस्पतालमा भर्ना हुनेको ८४ प्रतिशतमा पर्छन् ।

कृपया स्मार्ट छनौट गरेर र द्वेष र विभाजनभन्दा राम्रो स्वास्थ्यलाई प्राथमिकता दिएर आफ्नो, आफ्नो परिवार र आफ्नो समुदायको सुरक्षा गर्नतिर लागौं ।

प्रश्न, टिप्पणी वा सरोकारहरू :

तपाईंसँग कुनै प्रश्न, टिप्पणी वा सरोकारहरू छन् भने, कृपया मलाई harry.bhandari@house.state.md.us मा सम्पर्क गर्नु होला । अमेरिकी प्रजातन्त्रको मूलमन्त्र नै जनताका लागि, जनताद्वारा, जनताको हो । त्यसैले म  तपाईहरूलाई सुन्न र सम्बोधन गर्न पाउँदा सधैं खुशी हुनेछु ।

तपाईँहरूको शुभ होस्, सधैँभरि मेरो यही शुभकामना ।

 

 

 

 

Become a Part of Our Team

Support Us For Your Better Future