मार्च ११-१८, २०२२
एउटा चर्चित गीत छ, ‘इन्टु त थिक अफ इट’। यो साता हामी वास्तवमै यस्तै अवस्थामा थियौ। यसको अर्थ हो, हामी कामहरूको थुप्रोमा थियौं। एकपछि अर्को गरेर फालिम लागेका मतदान सत्र र सदनमा मुख्य मुद्दाहरूमा बहस, अधिकतम् व्यस्त रह्यो यो साता।
अर्को साताको पहिलो दिन मार्च २१मा क्रसओभर छ। यसको अर्थ हो, सदनबाट विधेयक पारित गर्ने र सिनेटमा सुनुवाइको ग्यारेन्टी गर्ने अन्तिम दिन। हाम्रो लागि पनि वास्तवमै महत्वपूर्ण दिन भएकाले हामी यसको उत्साहपूर्वक प्रतीक्षा गरिरहेका छौं।
ङमेरा निर्वाचन क्षेत्रलगायत समस्त मेरिल्याण्डबासीको जीवनलाई सहज बनाउन र उनीहरूलाई सुशासन दिन कानून बनाउने प्रक्रियामा सहभागी भएर जनताप्रति गरेको प्रतिबद्धता पूरा गर्न पाउँदा ज्यादै खुशी लाग्छ। अझ, यस ऐतिहासिक अन्नापोलिसमा मेरो समुदायको प्रतिनिधित्व गर्न पाउँनुको सन्तुष्टी त म शव्दमा व्यक्त गर्नै सक्दिन। यो अवसरका लागि मलाई साथ दिनुहुने सबैलाई धन्यवाद।
२०२२ विधेयक विशेष:
एचबी ४८४: दशैंलाई सांस्कृतिक चाडका रूपमा मान्यता र ‘दशै डे’ घोषणा
नेपालमा उत्पति भएको र मेरिल्याण्डमा पनि नेपालीलगायत धेरै दक्षिण एसियाली समुदायले मनाउने चाड दशैंलाई मान्यता दिने मेरो विधेयक एचबी ४८४ माथि मंगलबार स्वास्थ्य तथा सरकार सञ्चालन समितिमा सुनुवाइ भयो।
विधेयकमा दशैलाई नेपालमा उत्पति भई भारत, भुटान र बंगलादेश, म्यानमार, थाइल्याण्डलगायतका एसियाली देशमा असत्यमाथि सत्यको विजयोत्सवका रूपमा मनाइने एक सांस्कृतिक चाडका रूपमा प्रस्तुत गरिएको छ। १५ दिनसम्म तिथिका आधारमा मनाइने यो चाड सधैभरी एकै दिन नपर्ने भए पनि प्रायश: अक्टोबरमै पर्ने भएकाले हरेक वर्ष अक्टोबर ५ लाई मेरिल्याण्डमा दशै दिवशका रूपमा घोषणा गर्ने विधेयकको लक्ष्य छ। यसले नेपाललगायत दक्षिण एसियाली समुदायहरूको महत्त्वपूर्ण सांस्कृतिक अभ्यासलाई वैधानिकता प्रदान गर्नेछ र उनीहरूलाई आफ्नो सांस्कृतिक मूल्य स्विकार गर्ने एक महान राज्य मेरिल्याण्डप्रति थप आफ्नोपन महसुस गराउनेछ।
यस बिधेयकको समर्थनमा बयान दिने नेपाली समुदायका तीन प्रतिभाशाली युवा व्यक्तित्वहरू दीपा गुरूङ, आर्या आचार्य र सुप्रिया घिमिरेलाई धन्यवाद। उनीहरूको उत्कृष्ट वयान सुन्न पाउँदा मलाई गौरवको अनुभूति भयो। हाम्रो समुदायका लागि भोलिको आशा जगाउने भनेको यस्तै युवाहरूबाट हो। यस विधेयकको पक्षमा नेपाली जनमत सिर्जना गर्न नेपाली सुमदायले निर्वाह गरेको भूमिकाको पनि म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु। यी सबै प्रयासले सार्थकता पाएपछि समितिबाट विधेयक पारित हुँदा म धेरै खुसी भएँ। शुक्रबार सदनको पूर्ण बैठकबाट विधेयक १२३–५ को प्रचण्ड बहुमतले पारित भयो, त्यो त आफैंमा नेपाली समुदायका लागि एक मानक उपलव्धी थियो, म त्यो ऐतिहासिक पलको साक्षी हुन पाउँदा शव्दले व्यक्तै गर्न नसकिने गरी खुशी अनुभूत गरिरहेको थिएँ।
सुनुवाइ हेर्न यहाँ क्लिक गर्नुहोस्।
२०२२ विधायिकी सत्र अपडेट
यो विधायिकी सत्र मेरा लागि विश्वास नै गर्न नसकिने गरी सफल रह्यो। यस सफलताका लागि म मेरा सहकर्मी, समर्थक र मलाई यहाँसम्म पुग्न मद्दत गर्ने सबैप्रति कृतज्ञता प्रकट गर्दछु।
अब हामीसँग विधायिकी सत्रका तीन साता मात्र बाँकि छन्, यो विन्दुसम्म आइपुग्दा, ठूलो द्विपक्षीय समर्थनका साथ सदनबाट मेरा तीनवटा विधेयक पारित भएका छन्, यो उपलव्धीले मलाई स्वभावत: गौरवान्वित बनाएको छ। यसैगरी, मेरा अरू तीनवटा विधेयक सेकेण्ड रिडिङ पार गरेर फाइनल रिडिङ पर्खिरहेका छन्। विश्वास छ, यी विधेयक पनि उस्तै प्रचण्ड बहुमतका साथ सदनबाट पारित हुनेछन्।
२०२२ सत्र – पारित भएका मेरा विधेयकहरू:
एचबी ४८४ : दशैं दिवश मान्यता
यो विधेयक प्रत्येक वर्ष अक्टोबर ५ लाई दशैं दिवस घोषणा गर्नेसँग सम्बन्धित छ। दशै, नेपालमा उत्पत्ति भएको र दक्षिण एसियाका धेरै देशहरूमा असत्यमाथि सत्यको विजयोत्सवका रूपमा मनाइने सांस्कृतिक चाड हो। मेरिल्याण्डमा पनि नेपालीलगायत दक्षिण एसियालीले मनाउने यो चाडलाई मान्यता दिन अक्टोबर ५ लाई दशै दिवश घोषणा गर्ने यो विधेयक १२३-५ को प्रचण्ड बहुमतले पारित भयो।
एचबी ५३४: स्व-मापन रक्तचाप निगरानी उपकरण
यो विधेयकले २०२३ देखि मेरिल्याण्ड चिकित्सा सहायता कार्यक्रमअन्तर्गत नि:शुल्क स्वमापन रक्तचाप निगरानी उपकरण उपलव्ध गराउने व्यवस्था गर्दछ। यसबाट उच्च रक्तचाप भएका १५ लाख मेरिल्याण्डबासी हृदयरोग वा जोखिम कम गर्न सक्षम हुनेछन्। विधेयक सर्वसम्मतिले पारित भयो।
एचबी १२३८ : चलचित्रघरहरूमा क्याप्सनिङ
यो विधेयकले मेरिल्याण्डका चलचित्रघरमा प्रदर्शन हुने चलचित्रमध्ये दुई चलचित्र (एक सप्ताहान्त र अर्को अन्य दिन) क्याप्सनिङ गर्नैपर्ने प्रावधानको व्यवस्था गरेको छ। अंग्रेजी पहिलो भाषा नभएका र सुन्न अभ्यस्त भैनसकेका आप्रवासी अनि कान कम सुन्ने दर्शकहरू लाभान्वित हुने यो विधेयक १०८-२१ को बहुमतले पारित भयो।
२०२२ सत्र : पारित हुने क्रममा रहेका मेरा विधेयकहरू:
एचबी २८: फार्मासिस्ट- निकोटिन प्रतिस्थापन थेरापी औषधि
यो विधेयकले इजाजतपत्र प्राप्त फार्मासिस्टहरूलाई अमेरिकी खाद्य र औषधि प्रशासनद्वारा अनुमोदित निकोटिन प्रतिस्थापन उत्पादनहरू सिफारिस गर्ने र वितरण गर्ने अधिकार प्रदान गर्नेछ। यसबाट धुम्रपानको दर घट्छ र हाम्रो राज्यमा उच्च रक्तचाप, मधुमेह, हृदय रोग, फोक्सोको रोग तथा धेरै प्रकारका क्यान्सरजस्ता दीर्घकालीन रोगहरूको प्रभावलाई रोक्न सकिन्छ। विधेयकमाथि आगामी साता मतदान हुनेछ।
एचबी १२१९: फार्मासिस्टको अवस्था तथा सोधभर्ना अध्ययन
यो विधेयकले स्वास्थ्य हेरचाह दुर्व्यवहार दावी, मेडिकल रेकर्डको विनाश, र एचआईभी परीक्षणसँग सम्बन्धित कानूनी प्रावधानको लागि फार्मासिस्टहरू समावेश गर्न “स्वास्थ्य हेरचाह प्रदायक” को निश्चित परिभाषाहरू परिवर्तन गर्नेछ। यसले खास अवस्थामा इजाजतपत्र प्राप्त फार्मासिस्टद्वारा प्रदान गरिएका निश्चित सेवाहरूको मेरिल्याण्ड मेडिकल सहायता कार्यक्रम, मेरिल्याण्ड बाल स्वास्थ्य कार्यक्रम, र निश्चित बीमाकर्ताहरू, गैर-नाफामुखी स्वास्थ्य सेवा योजनाहरू, र स्वास्थ्य मर्मत संस्थाहरूले कभरेज प्रदान गर्नुपछ।
विधेयकमाथि आगामी साता मतदान हुनेछ।
एचबी १३२७ : विद्यार्थीका लागि घर र अस्पताल शिक्षण कार्यक्रम
यस विधेयकले राज्य शिक्षा विभागले विद्यार्थीहरूको लागि घर र अस्पताल शिक्षण कार्यक्रम र कार्यक्रममा सहभागी विद्यार्थीहरूको लागि शिक्षण सेवा र संक्रमण योजनाका बारेमा अध्ययन तथा सिफारिस गर्नेछ।
विधेयकमाथि आगामी साता मतदान हुनेछ।
एचबी १३४४: सागर घिमिरे ऐन
यस विधेयकले उच्च जोखिम सुरक्षा आदेशहरू अध्ययन गर्न एक उच्चस्तरीय कार्यसमूह गठन गर्नेछ। कार्यसमूहले मे १, २०२३ सम्ममा राज्यमा उच्च जोखिम सुरक्षा आदेशहरूको प्रयोगमा सुधार गर्न गभर्नर र महासभालाई नीतिगत सिफारिस गर्नुपर्नेछ।
यो विधेयकमाथि अझै समितिमा विधायिकी काम भैरहेको छ।
यस विधेयकका बारेमा हालै द बाल्टिमोर सनले एक समाचार सम्प्रेषण गरेको थियो।
‘द बाल्टिमोर सन’मा सागर घिमिरे ऐन
गत वर्ष एक नेपाली प्रतिभाशाली विद्यार्थी सागर घिमिरेको अनाहकमा ज्यान गएको दुखद घटनाको बेला उनको विरासतलाई हाम्रो राज्यमा जिवीत राख्न र पुन: यस्तो घटना हुनबाट रोक्नका लागि मैले गरेको प्रयासलाई उच्च प्राथमिकताका साथ समाचार प्रकाशित गरेकोमा द बाल्टिमोर सनलाई धन्यवाद। घटनाको प्रत्यक्ष साक्षी हुनुहुने र न्याय पाउनको लागि आफ्नो कथा बारम्बार सुनाउनुहुने श्री अधिकारीप्रति हार्दिक आभार।
यो विधेयकले समुदायका लागि खतराको प्रतिनिधित्व गर्नेहरूको हातबाट बन्दुक बाहिर राख्न चरम जोखिम सुरक्षा आदेश कार्यान्वयनको समीक्षा गर्न एक उच्चस्तरीय कार्यदल गठन गर्नेछ। कार्यदलले मानसिक स्वास्थ्य समस्या भएका त्यस्ता व्यक्तिहरूलाई आवश्यक मानवीय सहायतासँग जोड्ने तरिकाहरूको सिफारिस पनि गर्नेछ।
गत साता न्यायिक समितिले श्री अधिकारी, सागरको परिवार र काउन्टी कार्यपालिकाको कार्यालयबाट साक्षीसहित सुनुवाइ गरेको थियो।
यहाँ क्लिक गरेर द बाल्टिमोर सनका सम्वाददाता क्रिस्टिन कन्डोनको पूर्णलेख पढ्नुहोस्:
‘मैले आँखा बन्द गरें, र उसले बन्दुक हाने’:
२०२१ मा घटेको वुडलन घटनालाई सम्झदै बाँचेकाहरू ‘रेड फ्ल्याग’ कानून पुन: मूल्याङ्कन गर्न आग्रह गर्छन् ।
ग्याँसमा कर छुट
मेरिल्याण्डबासीको हितलाई ध्यानमा राखेर राज्यको ग्याँस कर ३०-दिनलाई निलम्बन गरिएको छ। अर्थात् आउँने ३० दिन ग्याँसमा राज्यकर छुट हुनेछ जसले गर्दा मेरिल्याण्डमा कम मूल्यमा ग्याँस उपलव्ध हुनेछ। ग्याँसमा दिइएको छुटले सबै क्षेत्रमा हुने मूल्य वृद्धिको असरलाई पनि सम्बोधन गर्नेछ।
मेरिल्याण्डबासीको हितका लागि ल्याइएको यो विधेयक सर्वसम्मतिले पारित भयो, यो विधेयकको सह-प्रायोजक हुन पाउँदा मलाई गर्व लागेको छ।
बजेट फाइदामा भएको हाम्रो राज्यसँग ठूलो सञ्चिति रकम छ । हामी त्यो रकममार्फत् यो करछुटको सोधभर्ना गर्न सक्छौं । मेरिल्याण्डबासी महंगीको मारमा परेको बेला उनीहरूलाई राहत दिन यस्तो सञ्चिति रकम उपयोग गर्नु वाञ्छनीय हुन्छ भन्ने मेरो मान्यता रहेको छ।
यो मेरिल्याण्डभर पम्पमा मूल्यहरुलाई तल ल्याउन मद्दतको रूपमा तुरुन्तै प्रभाव हुनेछ, र हामी सजिलैसँग हाम्रो ऐतिहासिक बजेट अधिशेषसँग यो कर ब्रेकको लागतको अवशोषित गर्न सक्षम हुनुपर्छ। ग्याँसको मूल्य वृद्धिमा योगदान गर्ने सबै कारकहरूलाई विचार गर्दै, यो विधेयकले राम्रो अर्थ दिन्छ र राज्यभरका पकेटबुकहरूमा तनाव कम गर्न मद्दत गर्नेछ।
तान्या जोन्सको सम्झना
हाम्रो समुदायका नागरिक त्यसमा पनि विशेषगरी विद्यार्थीलाई सहयोग गर्न अथक प्रयास गर्ने डुन्डल्क क्याम्पस निर्देशक तान्या जोन्स अब यो संसारमा रहनु भएन। म यो साता उहाँको निधनमा शोक व्यक्त गर्न बाल्टिमोर काउन्टीको सामुदायिक कलेजमा सामेल भएँ।
तान्या मेरै निर्वाचन क्षेत्र डिस्ट्रिक्ट ८ को बासिन्दा हुनुहुन्थ्यो। मैले उहाँलाई पहिलोपटक २०१८ को प्रारम्भिक निर्वाचनको मतदान केन्द्रमा भेटेंको थिएँ। त्यसपछि हामी नियमित सम्पर्कमा रह्यौं। तान्या साँच्चै नै एक अद्भुत व्यक्ति हुनुहुन्थ्यो, उहाँको हृदय जति ठूलो थियो, मुस्कान पनि त्यतिकै मनमोहक थियो।
तान्याको शोकसभामा म र डेलिगेट कार्ल ज्याक्सन सभामुख जोन्स र सम्पूर्ण हाउस अफ एसेम्बेलीका तर्फबाट शोक व्यक्त गर्न सामेल भएका थियौं।
ग्रीक दार्शनिक एपेक्टेटसले भनेका थिए, “खुशीको एउटै उपाय छ, र त्यो हो, हाम्रो ईच्छाशक्तिभन्दा बाहिरका चिजहरूको चिन्ता नगर्नु।” संसारका सबै इच्छाशक्तिका साथ पनि अब हामी तान्यालाई फर्काउन सक्दैनौं। तर, हामी आफैलाई खुशी राखेर र अरूलाई त्यो बाँडेर उहाँको आत्मालाई खुशी बनाउन सक्छौं ।
तान्या शिक्षा क्षेत्रको एक च्याम्पियन हुनुहुन्थ्यो र यही रूपमा उहाँले धेरै जीवनलाई छुनुभएको थियो।
तान्याको असामयिक निधनबाट म आहत भएको छु तर सँगसँगै उहाँको मिशनलाई आफ्नै काममा जारी राख्न अभिप्रेरित पनि भएको छु। म चाहन्छु, उहाँको अभाव केही मात्रामा भए पनि पूरा गर्न सकुँ।
धन्यवाद, तान्या, तपाईले गर्नुभएको सबै कुराको लागि।तपाईं अहिले भगवानसँग हुनुहुन्छ, र हाम्रो हृदयमा सदैव बसिरहनु हुनेछ।
छात्रवृत्तिका लागि आवेदन
मेरो कार्यालयले २०२२-२०२३ को छात्रवृत्तिका लागि आवेदन लिइरहेको छ :
आवेदन डिस्ट्रिक्ट ८ का मेरा सहकर्मीहरू विधायक जोसेफ बोटेलर- II र कार्ल ज्याक्सनका लागिसमेत लिइने छ। आवेदन दिने अन्तिम मिति मार्च ३१, २०२२ हो।
आवेदन फारामका लागि तपाईं यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
वा
यो QR कोड स्क्यान गर्न सक्नुहुन्छ।
आवेदन गर्नुअघि ध्यान दिनुपर्ने केही कुराहरू:
आवेदक मेरिल्याण्डको डिस्ट्रिक्ट ८ को बासिन्दा हुनुपर्छ :
त्यसका लागि तपाईं mdelect.net मा आफ्नो ठेगाना रूजु गर्न सक्नुहुन्छ । यदि तपाईं अन्य डिस्ट्रिक्टमा बस्नुहुन्छ भने, हामी तपाईंलाई त्यही डिस्ट्रिक्टका विधायकहरूमार्फत् छात्रवृत्तिको लागि आवेदन दिन सुझाव दिन्छौं ।
आवेदक मेरिल्याण्डका कलेज वा विश्वविद्यालयमा पूर्ण वा आंशिक समयको विद्यार्थी हुनुपर्छ:
हामी मेरिल्याण्ड बाहिर अध्ययन गर्न जाने विद्यार्थीलाई (विशिष्ट परिस्थितिबाहेक) छात्रवृत्ति प्रदान गर्न असमर्थ छौं।
आवेदकहरूले एकपटक मात्र आवेदन गर्नुपर्छ:
डिस्ट्रिक्ट ८ का तीन विधायकहरू (भण्डारी, बोटेलर र ज्याक्सन) ले साझा छात्रवृत्ति कोष सञ्चालन गर्नुहुन्छ। आवेदन स्वीकार गर्न र निर्णय गर्न पनि एउटै प्रणाली प्रयोग हुन्छ । तपाईंले यो फारम एकपटक, एक ठाउँमा पेश गरेपछि तीनवटै कार्यालयले समीक्षा गर्न सक्छन् । त्यसैले तीन ठाउँमा आवेदन दिन आवश्यक छैन।
ध्यान दिनुपर्ने थप कुराहरू:
विधायिकी छात्रवृत्तिहरू गैर-नवीकरणीय छन्, यसको मतलब तपाईंले प्रत्येक वर्ष पुन: आवेदन गर्नुपर्छ। फाफ्साका लागि फाइल गर्न प्रोत्साहित गरिए पनि त्यो त्यति आवश्यक छैन । यदि तपाईं फाफ्साका लागि आवेदन दिनुहुन्न भने छात्रवृत्ति पुरस्कार प्रक्रियाको लागि मेरिल्याण्ड उच्च शिक्षा आयोग (MHEC) मा एउटा एकाउन्ट खोल्नुपर्छ।
थप विवरणका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ
तपाईंसँग छात्रवृतिका बारेमा कुनै पनि जिज्ञासा वा प्रश्न भएमा निम्न इमेलहरूमा सम्पर्क गर्न सक्नुहुनेछ :
Harry.Bhandari@house.state.md.us, Joseph.Boteler@house.state.md.us, Carl.Jackson@house. state.md.us
हामी तपाईका जिज्ञासा र प्रश्नहरूको सम्बोधन गर्ने नै छौं ।
छात्रवृति र उच्च शिक्षाका लागि अग्रिम शुभकामना ।
प्रश्न, टिप्पणी वा सरोकारहरू :
तपाईंसँग कुनै प्रश्न, टिप्पणी वा सरोकारहरू छन् भने, कृपया मलाई harry.bhandari@house.state.md.us मा सम्पर्क गर्नु होला । अमेरिकी प्रजातन्त्रको मूलमन्त्र नै जनताका लागि, जनताद्वारा, जनताको हो । त्यसैले म तपाईहरूलाई सुन्न र सम्बोधन गर्न पाउँदा सधैं खुशी हुनेछु ।
तपाईहरूलाई सफलता मिलोस्, जीवन सुखमय होस्- मेरो यही शुभकामना ।
नेपाली न्युजलेटर- दशौं अंक