फेब्रुअरी ५-११, २०२२
संसद सत्रको समय छिटोछिटो बितिरहेको छ, कामको चाप पनि बढ्दो छ। यो साता विधेयक दर्ता गर्ने अन्तिम साता थियो। त्यसैले, मेरो अधिकांश समय विधायिकी काममै बित्यो। म यस सत्रमा सात विधेयक प्रायोजन र केही विधेयक सह-प्रायोजन गर्दैछु। यी विधेयकका अतिरिक्त स्थानिय परियोजना कोषका लागि चार विधायिकी बन्ड पनि दर्ता गरेको छु। यो सत्रको बाँकि दुई महिना म यिनै काममा व्यस्त हुनेछु।
२०२२ विधेयक स्पटलाइट
HB534: मेरिल्याण्ड चिकित्सा सहायता कार्यक्रम – स्वमापन रक्तचाप निगरानी
यो बिधेयकले उच्च रक्तचाप भएका १५ लाख मेरिल्याण्डबासीको स्वास्थ्य निगरानी गर्न र हृदयरोग वा हृदयाघातको जोखिमलाई कम गर्न स्वमापन गर्ने रक्तचाप निगरानी उपकरणहरू समावेश गर्न मेडिकेड कभरेज विस्तार गर्नेछ। मेरो समिति, स्वास्थ्य तथा सरकारी कार्यसञ्चालनले बुधबार बिना अबरोध यो विधेयकको सुनुवाइ गरेको थियो। सुनुवाइमा सहभागी सबैलाई धन्यवाद।
सुनुवाइ हेर्न यहाँ क्लिक गर्नुहोस्।
बाल हेरचाह विधायिकी राहत कार्यक्रम

यो साता, सभामुख एड्रियन ए. जोन्स र सिनेटका अध्यक्ष बिल फर्ग्युसनले राज्यमा बाल हेरचाह क्षमता र बालबालिकाको भर्ना बढाउने उद्देश्यले एक विधायिकी राहत कार्यक्रमको घोषणा गर्नुभयो।मजबुत, भरपर्दो बाल हेरचाह सेवा जनशक्तिको अभाव सम्बोधन गर्ने एक महत्वपूर्ण तरिका हो। तर, आर्थिक कठिनाइ र हेरचाहका लागि बालबालिका भर्ना नहुँदा मेरिल्याण्डले महामारीको समयमा लगभग ८०० इजाजतपत्र प्राप्त बाल हेरचाह संस्थाहरू गुमायो। राष्ट्रिय रूपमा, बाल हेरचाह लागत लगभग ४१ प्रतिशत बढेको छ। मेरिल्याण्डमा, २०२० मार्चदेखि डिसेम्बर २०२१ सम्म, बाल हेरचाह लागत सेटिङ र हेरचाहको प्रकारको आधारमा १२ देखि ३३ प्रतिशतसम्म वृद्धि भएको छ।
बाल हेरचाह विधायिकी राहत कार्यक्रमले मेरिल्याण्डको बाल हेरचाह क्षमतालाई थप सहुलियतपूर्ण बनाउन र थप बाल हेरचाह केन्द्र खोल्न मद्दत गरेर पुन: निर्माण गर्ने लक्ष्य राख्छ ताकि धेरै आमाबाबु काममा फर्कन सकून् र धेरै बालबालिकाले उच्च गुणस्तरीय हेरचाह पाउन सकून्। राहत कार्यक्रमले बाल हेरचाह पुर्याउन अवरोध हटाउने, विशेष शिक्षा बाल हेरचाह प्रदायक र सबैभन्दा बढी सहायता आवश्यक पर्ने प्रदायकलाई थप आर्थिक सहायता प्रदान गर्ने कानुनी व्यवस्था गर्छ। यसले सेवा प्रदायकलाई सुविधा विस्तार गर्न, संरचना पुनर्निर्माण गर्न, नयाँ कर्मचारी भर्ना गर्न र भएका कर्मचारीलाई कायम राख्न पनि मद्दत गर्छ।
बाल हेरचाह राहत कार्यक्रममा तल उल्लेखित ५ विधेयक समावेस छन्:·
बाल हेरचाह छात्रवृत्ति कार्यक्रममा सुधार
योग्य विद्यार्थी स्वस्फूर्त रूपमा भर्ना हुन् र छात्रवृत्ति कार्यक्रममा सहभागी बाल हेरचाह प्रदायकले छिटो भुक्तानी पाउँन्।
छात्रवृत्ति कार्यक्रममा सहभागी हुने प्रदायकका लागि तीन करोड ५०लाखको चलायमान ऋण कोष
निर्ब्याजी रूपमा प्रदान गरिने यो ऋण सुविधा विस्तार, नयाँ संरचना निर्माण र खरिद तथा बाल हेरचाह सुविधा केन्द्र मर्मतका लागि प्रयोग गर्न सकिन्छ।
भएका कर्मचारी र नयाँ भर्ना हुनेलाई एक करोड ६० लाख बोनस
विकासात्मक असक्षमता भएका बालबालिकालाई सेवा प्रदान गरिरहेका प्रदायकका लागि अनुदान कार्यक्रम
पारिवारिक बाल हेरचाहलाई प्राथमिकता प्रदान तथा प्रदायकलाई चालु आर्थिक वर्षमा ५ करोड अनुदान
स्वास्थ्य तथा सरकारी कार्यसञ्चालन समिति अपडेट :
स्वास्थ्य तथा सरकारी कार्यसञ्चालन समितिले पारित गरेको विधेयकमा निम्नानुसार छन्:
HB0166: अल्जाइमर रोग र डिमेन्सिया – काउन्सिल, र सेवाहरूको समन्वय (डिमेन्शिया सेवा ऐन २०२२)
प्रायोजक : विधायक नमूना-ह्युजेस
यस विधेयकले भर्जिनिया आई. जोन्स अल्जाइमर्स डिजिजेज एन्ड रिलेटेड डिस्अर्डर्स काउन्सिलमा नियुक्त सदस्यहरूको कार्यकाल तीन वर्ष बनाउने छ। काउन्सिलमा अल्जाइमर्स तथा यससँग सम्बन्धित रोगहरूको बारेमा योजनावद्ध रूपमा काम गर्न एक निर्देशक नियुक्त गरिने छ जसको कार्यकाल सेप्टेम्बर १, २०२२ देखि लागु हुने गरी पाँच वर्ष हुने छ। सर्वसम्मतिले पारित यस विधेयकलाई सहप्रायोजन गर्न पाउँदा म खुशी छु।
HB0055: स्वास्थ्य व्यवसायहरू – नर्स एनेस्थेटिस्टहरू – औषधि प्राधिकरण तथा सहयोग
प्रायोजक : विधायक कलिसन
यो विधेयकले नर्स एनेस्थेटिस्टलाई केही सीमितताको अधीनमा रही सहकर्मी व्यवसायीबाट स्वीकृति प्राप्त नगरी पनि नियन्त्रित पदार्थसहित आवश्यक औषधिहरू सिफारिस गर्न, अर्डर गर्न र व्यवस्थापन गर्न अधिकार दिन्छ।विधेयक सर्वसम्मतिले पारित भएको हो ।
HB0287: स्वास्थ्यमन्त्री- व्यावसायिक योग्यता आवश्यकता
प्रायोजक : विधायक- पेना-मेल्नाइक तथा डेलिगेटहरू
यो विधेयकले स्वास्थ्यमन्त्री कम्तिमा कुनै पनि स्वास्थ्य सम्बन्धी क्षेत्र, स्वास्थ्य वा कानून नीति, स्वास्थ्य सेवा सुविधा प्रशासन, स्वास्थ्य अर्थशास्त्र वा वित्तीय व्यवस्थापन, स्वास्थ्य सेवासँग सम्बन्धित सरकारी कार्यहरू, वा एक स्वास्थ्य सेवा प्रदायकका रूपमा निश्चित अनुभव भएको वा शिक्षाको माध्यमबाट व्यावसायिक रूपमा योग्य हुनुपर्छ भनेको छ। विधेयक सर्वसम्मतिले पारित भएको हो ।
बाल्टिमोर काउन्टी प्रतिनिधिमण्डल
बाल्टिमोर काउन्टी प्रतिनिधिमण्डलसमक्ष समसामयिक विषयमा अमेरिकी संघीय संसदको धारणा राख्नुभएकोमा सिनेटर क्रिस भान होलेनलाई धन्यवाद।
हामीले अमेरिकी सिनेटमा विगत र विचाराधीन कानूनसहित धेरै विषयहरूमा सिनेटर होलेनसँग कुरा गर्यौ। उहाँले राष्ट्रपति बाइडेनको पूर्वाधार लगानी र रोजगार ऐनबाट हाम्रो राज्यमा बजेट प्रवाहित भैसकेको र त्यसको सकारात्मक प्रभाव यही वर्ष हाम्रो समुदायमा देखिने शुभ समाचार सुनाउनु भयो।
हामीले हुलाक सेवाका बारेमा पनि कुरा गर्यौ। गत साता सिनेटर बेन कार्डिनसँगको हाम्रो भेटमा, हामीले बाल्टिमोर र देशभरि मेल सेवाको समस्याका बारेमा कुरा राखेका थियौं। गत वर्ष, मैले अमेरिकी हुलाक सेवाका पार्कभिल शाखाका प्रबन्धकका साथै सम्पूर्ण बाल्टिमोर जिल्लाको प्रतिनिधिसँग कुरा गरें। मेरा सहकर्मीहरू र डिस्ट्रिक्ट ८ का तर्फबाट मैले सिनेटरहरू बेन कार्डिन र क्रिस भान होलेन, साथै सांसद डच रुपर्सबर्गरलाई यी समस्याहरू सुधार गर्न मद्दतका लागि अनुरोध गर्दै औपचारिकपत्र पठाएँ।
हालैको अमेरिकी प्रतिनिधिसभामा सत्तापक्ष र विपक्षी दुबैको समर्थनमा ५७० करोडको हुलाक सेवा अद्यावधिक गर्ने प्रस्ताव पारित भएको छ। मैले सिनेटमा प्रस्ताव पारित हुने सम्भावनाको बारेमा सिनेटर होलेनलाई सोधें। उहाँले यो प्रस्ताव पारित गर्न आवश्यक मत रहेको दाबी गर्दै हुलाकसँग सम्बन्धित मुद्दा समाधान गर्न आफू प्रतिबद्ध रहेको पनि बताउनुभयो।
सिनेटर भ्यान होलेनसँग मेरो सवाल-जवाफ हेर्ने यहाँ क्लिक गर्नुहोला ।
कामका क्रममा तीन फायर फाइटरको दुखद निधन भए लगत्तै आफ्नो विभागको स्थितिको बारेमा छलफल गर्न बाल्टिमोर सिटी फायर डिपार्टमेन्टका प्रमुख जोआन रन्ड सहभागी हुनुभयो, सहभागिताका लागि धन्यवाद। छलफल हामी राज्यका विधायक विभागका आवश्यकतालाई समर्थन गर्न के गर्न सक्छौं भन्ने कुरामा केन्द्रित रह्यो। म हाम्रा समुदायको सुरक्षाका लागि स्थानीय कानून प्रवर्तन तथा आपतकालीन एजेन्सीहरूसँग काम गर्न प्रतिबद्ध छु। प्रमुख रन्ड र राज्यका सबै फ्रन्टलाइन अधिकारीलाई धन्यवाद र सम्मान।
हाम्री प्रशिक्षार्थी – श्रुति
यस वर्षको विधायिकी सत्रमा मेरो कार्यालयमा प्रशिक्षार्थीका रूपमा कार्यरत् श्रुतिलाई परिचय गराउन पाउँदा म निकै उत्साहित छु। उहाँको आगमनले हाम्रो टिम अरू मजबुत र सशक्त भएको छ। मलाई थाहा छ, उहाँको भविष्य उज्ज्वल छ!
श्रुति बाल्टिमोरको ब्रायन मावर स्कूलमा उच्चमाध्यमिक तहकी माथिल्लो कक्षाकी छात्रा हुनुहुन्छ। उहाँ राजनीतिशास्त्रलाई मूल विषय बनाएर उच्च शिक्षा हासिल गर्ने योजनामा हुनुहुन्छ। यसबाट आफ्नो समुदायमा प्रभावकारी परिवर्तन ल्याउने आशा गर्नुहुन्छ। उत्तरपूर्वी बाल्टिमोर काउन्टीमा रहेर दक्षिण एसियाली समुदायको अभियन्ताको रूपमा अगाडि बढिरहनु भएकी श्रुति, मेरिल्याण्ड संसदमा एक प्रशिक्षार्थीका रूपमा हासिल गरेको अनुभव भविष्यमा आफ्नो समुदायका लागि उपयोगी हुने विश्वास राख्नु हुन्छ।
श्रुति, यहाँलाई हाम्रो टिममा हार्दिक स्वागत छ। यस वर्षको विधायिका सत्रभरि उत्कृष्ट काम गर्ने विश्वास दिलाएकोमा धन्यवाद।
छात्रवृत्तिका लागि आवेदन
मेरो कार्यालयले २०२२-२०२३ को छात्रवृत्तिका लागि आवेदन लिइरहेको छ :
आवेदन डिस्ट्रिक्ट ८ का मेरा सहकर्मीहरू विधायक जोसेफ बोटेलर- II र कार्ल ज्याक्सनका लागिसमेत लिइने छ। आवेदन दिने अन्तिम मिति मार्च ३१, २०२२ हो।
आवेदन फारामका लागि तपाईं यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
वा
यो QR कोड स्क्यान गर्न सक्नुहुन्छ।
आवेदन गर्नुअघि ध्यान दिनुपर्ने केही कुराहरू:
आवेदक मेरिल्याण्डको डिस्ट्रिक्ट ८ को बासिन्दा हुनुपर्छ :
त्यसका लागि तपाईं mdelect.net मा आफ्नो ठेगाना रूजु गर्न सक्नु
हुन्छ । यदि तपाईं अन्य डिस्ट्रिक्टमा बस्नुहुन्छ भने, हामी तपाईंलाई त्यही डिस्ट्रिक्टका विधायकहरूमार्फत् छात्रवृत्तिको लागि आवेदन दिन सल्लाह- सुझाव दिन्छौं ।
आवेदक मेरिल्याण्डका कलेज वा विश्वविद्यालयमा पूर्ण वा आंशिक समयको विद्यार्थी हुनुपर्छ:
हामी मेरिल्याण्ड बाहिर अध्ययन गर्न जाने विद्यार्थीलाई (कुनै विशिष्ट परिस्थिति बाहेक) छात्रवृत्ति प्रदान गर्न असमर्थ छौं।
आवेदकहरूले एकपटक मात्र आवेदन गर्नुपर्छ:
डिस्ट्रिक्ट ८ का तीन विधायकहरू (भण्डारी, बोटेलर र ज्याक्सन) ले साझा छात्रवृत्ति कोष सञ्चालन गर्नुहुन्छ। आवेदन स्वीकार गर्न र निर्णय गर्न पनि एउटै प्रणाली प्रयोग हुन्छ । तपाईंले यो फारम एकपटक, एक ठाउँमा पेश गरेपछि तीनवटै कार्यालयले समीक्षा गर्न सक्छन् । त्यसैले तीन ठाउँमा आवेदन दिन आवश्यक छैन।
ध्यान दिनुपर्ने थप कुराहरू:
विधायिकी छात्रवृत्तिहरू गैर-नवीकरणीय छन्, यसको मतलब तपाईंले छात्रवृति हरेक वर्ष पुन: आवेदन गर्नुपर्छ। फाफ्साका लागि आवेदन दिन प्रोत्साहित गरिए पनि हामी त्यो त्यति आवश्यक नभएको सल्लाह दिन्छौं। यदि तपाईं फाफ्साका लागि आवेदन दिनुहुन्न भने छात्रवृत्ति प्रक्रियाका लागि मेरिल्याण्ड उच्च शिक्षा आयोग (MHEC) मा एउटा एकाउन्ट खोल्नुपर्छ।
थप विवरणका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ
तपाईंसँग छात्रवृतिका बारेमा कुनै पनि जिज्ञासा वा प्रश्न भएमा निम्न इमेलहरूमा सम्पर्क गर्न सक्नुहुनेछ :
Harry.Bhandari@house.state.md.us, Joseph.Boteler@house.state.md.us, Carl.Jackson@house. state.md.us
हामी तपाईका जिज्ञासा र प्रश्नहरूको सम्बोधन गर्ने नै छौं ।
छात्रवृति र उच्च शिक्षाका लागि अग्रिम शुभकामना ।
प्रश्न, टिप्पणी वा सरोकारहरू :
तपाईंसँग कुनै प्रश्न, टिप्पणी वा सरोकारहरू छन् भने, कृपया मलाई harry.bhandari@house.state.md.us मा सम्पर्क गर्नु होला । अमेरिकी प्रजातन्त्रको मूलमन्त्र नै जनताका लागि, जनताद्वारा, जनताको हो । त्यसैले म तपाईहरूलाई सुन्न र सम्बोधन गर्न पाउँदा सधैं खुशी हुनेछु ।
तपाईहरूलाई सफलता मिलोस्, जीवन सुखमय होस्- मेरो यही शुभकामना ।