हामी संसद अधिवेशनमा फर्केका छौं। हामीसँगै मेरिल्याण्ड संसदको २०२२ संसद अधिवेशन पूर्णरूपमा सुचारू भएको छ। अझै पनि हाम्रा धेरैजसो बैठक भर्चुअल रूपमा भैरहेका छन्, तर सदनका हल र कक्षमार्फत एक किसिमको ऊर्जा प्रवाह भैरहेको महसुस गर्न पाउँदा खुशी लागेको छ।
मसँग अब डकेटमा छवटा विधेयक छन्, र हामी जाँदा सधैं एक वा दुई थप विधेयक लिन सक्छौं। मेरो प्राथमिकता स्वास्थ्य र सरकारी सञ्चालन समिति र त्यसलगतै बीमा तथा स्वास्थ्य पेशासम्बन्धित उपसमितिमा विधेयकहरूलाई मार्गप्रशस्त गर्नु हुनेछ। फरक पृष्ठभूमि र विश्वास भएका मेरा सहकर्मी विधायकहरूसँगै यसमा फर्केर आउन पाउनु मेरो लागि ठूलो कुरा हो। म मेरिल्याण्डका जनताप्रतिको गहिरो समर्पणसहित सँगै उभिन आइपुग्नु भएका विधायकहरूको यस्तो उल्लेखनीय समूहको हिस्सा हुन पाउँदा गर्व गर्छु।
मेरिल्याण्ड बजेट
यसै साता विनियोजन समितिले आगामी आर्थिक वर्ष २०२३ को बजेटमाथि काम सुरु गरेको छ। यस वर्षको बजेट पहिला सिनेटमा प्रस्तुत हुन्छ । बजेट विनियोजन सम्बन्धमा मेरा भनाइहरू निम्नानुसार छन् :
- गभर्नरद्वारा आर्थिक वर्ष २०२३ को लागि ५८.२ बिलियन डलर सञ्चालन बजेट प्रस्ताव गरिएको छ
आर्थिक वर्ष २०२२ को तुलनामा प्रस्तावित बजेट लगभग ५.५ प्रतिशत कम हो। यसबाट हामीलाई $ ४ बिलियनभन्दा बढी नगद सञ्चिति हुने देखिन्छ। - शिक्षामा पूर्णरूपमा बजेट व्यवस्था गरिएको छैन
गभर्नरको आर्थिक वर्ष २०२३ को बजेटमा शिक्षा प्रयास समायोजन कम्पोनेन्टअन्तर्गत किरवानको लागि १२५ मिलियन डलर समावेश गरिएको छैन र अन्य किरवान कार्यक्रमका लागि पनि १५ मिलियन डलर छुट्याइएको छैन। म किरवानको समर्थनमा दृढतापूर्वक उभिने छु र आवश्यक सम्पूर्ण बजेट बिनियोजनका लागि हरसम्भव उपायहरू अपनाउन प्रतिबद्ध छु। - बजेटले राज्य कर्मचारी क्षतिपूर्तिमा वृद्धि गर्न ८३२ मिलियन डलर बिनियोजन गरेको छ
प्रशासनले आफ्नो १० प्रतिशतभन्दा बढी पदमा कर्मचारी भर्ना गर्न असमर्थ भएको स्थितिलाई मध्यनजर राख्दा यो बजेट धेरै आवश्यक छ, जुन मेरिल्याण्डका जनताको महत्त्वपूर्ण सुरक्षा चिन्ता पनि हो। - बजेटले बाल हेरचाह प्रदायकलाई सहयोग गर्न र बाल हेरचाह अनुदान कार्यक्रमलाई समर्थन गर्न ६० मिलियन डलर बिनियोजन गरेको छ
हाम्रो राज्यमा प्रारम्भिक बाल्यकालको विकासलाई सघाउन बजेट विनियोजन जारी राखिएकोमा म धेरै खुशी छु।
पूँजीगत खर्च कुल १.२ बिलियन डलर सामान्य दायित्व बन्डमा र १.१ बिलियन डलर नगद र अन्य राजस्वमा।
पुँजीगत बजेट राज्यको उत्कृष्ट रोजगार सिर्जनाको एकल साधन हो । त्यसैले हामी यो रकम योग्य परियोजनाहरूमा जाने सुनिश्चित गर्न काम गर्नेछौं। म यो बजेटको केही अंश डिस्ट्रिक्ट ८ का लागि प्राप्त गर्न प्रयत्नशील रहनेछु।
२०२२ विधेयक शीर्षक
एचबी २८: फार्मासिस्टहरू – सुर्तिजन्य उत्पादन प्रयोगको अन्त्यका लागि सहायता
मैले फार्मासिस्टहरूलाई निकोटिन प्रतिस्थापन थेरापीहरू लेख्न अनुमति दिने मेरो विधेयकको समर्थनमा २०२२ को संसद अधिवेशनमै पहिलो बयान दिइसकेको छु। यसले डाक्टरको क्लिनिकमा नगई बिमाद्वारा कभर गरिएका यी उत्पादनको मूल्य प्राप्त गर्न सजिलो बनाउँछ।
अनुसन्धानले के देखाएको छ भने कम आय भएका मानिसलाई निकोटिन प्रतिस्थापन उपचारको पहुँचमा ल्याउन गाह्रो छ, जबकि यसमा सूर्तीजन्य पदार्थको प्रयोगले उनीहरूको स्वास्थ्यमा सबैभन्दा खराब प्रभाव भोगिरहेका अल्पसंख्यक समुदाय पनि पर्छन्। यस बिधेयकका साथ, हामी यी असमानताहरूलाई सम्बोधन गर्न र धेरैभन्दा धेरै मानिसलाई धुम्रपानबाट रोक्न, उनीहरूको हेरचाहको गुणस्तर सुधार गर्न र यसबाट आम मानिसको स्वास्थ्यमा सकारात्मक परिणाम ल्याई अझ बढी स्वस्थ र अझ बढी खुसी मेरिल्याण्ड बनाउन मद्दत गर्न चाहन्छौं।
यस विधेयकको समर्थनमा मसँगै उभिन आइपुग्नु भएका सबै महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। यसैगरी सह-प्रायोजनको लागि डेलिगेट रोबिन लुइस र सिनेटमा क्रसफाइलिङका लागि सिनेटर मेरी वाशिंगटनप्रति पनि कृतज्ञ छु। मैले समितिबाट सकारात्मक प्रतिवेदनको अपेक्षा गरेको छु।
हाम्रो समर्थन हेर्न यहाँ क्लिक गर्नुहोला
बाल्टिमोर काउन्टी प्रतिनिधिमण्डल
मलाई स्थानीय मुद्दा र ती मुद्दालाई सम्बोधन गर्न छलफल गर्न चाहने बाल्टिमोर काउन्टीका मेरा सहकर्मीहरूसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशीको अनुभूति हुन्छ। यस साता, हामी बाल्टिमोर काउन्टी बोर्ड अफ एजुकेशनका सदस्यहरूसँग कसरी बोर्डका विद्यार्थी सदस्यलाई मतदानको अधिकार दिन सकिन्छ भन्ने उपायबारे छलफलमा सहभागी भयौं। छलफलका क्रममा यसका पक्ष र विपक्षमा ठोस तर्कहरू पाइए। यस विषयमा निर्णयमा पुग्नुअघि म मेरा मतदाताहरूको विचार बुझ्न चाहन्छु। त्यसैले आफ्ना विचारहरू मसम्म पुर्याउन र साझा गर्न सबैमा हार्दिक अनुरोध गर्दछु।
यी हुन् हाम्रा प्रशिक्षार्थी- ट्रिस्टन
म यस वर्षको संसद अधिवेशनको प्रशिक्षार्थीका रूपमा ट्रिस्टनलाई परिचय गराउन पाउँदा धेरै उत्साहित छु। उहाँ यही साता कार्यक्षेत्रमा पुगेर आफ्नो जिम्मेवारी सुरू गर्नुभयो । म उहाँको सुरूवाती उत्साह र प्रतिबद्धताबाट प्रभावित भएको छु।
ट्रिस्टन युनिभर्सिटी अफ मेरिल्याण्ड, बाल्टिमोर काउन्टीमा राजनीति शास्त्रका सिनियर विद्यार्थी हुनुहुन्छ। उहाँ समुदायका समस्याहरू समाधान गर्न र आफूले भेट्ने सबैमा सकारात्मक प्रभाव छोड्न अत्यन्त सचेत हुनुहुन्छ।
यही गुणले ट्रिस्टनलाई मेरो अफिसमा प्रशिक्षित हुन अभिप्रेरित गर्यो। उहाँ मेरो डिस्ट्रिक्ट ८ कै बासिन्दा भएकाले पनि म उहाँलाई मेरो टोलीमा राख्न रोमाञ्चित भएको हुँ।
ट्रिस्टन सार्वजनिक नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा रूचि राख्नुहुन्छ। र, फुर्सदको समयमा आफ्ना साथीहरूसँग भिडियो गेम र खेल खेल्दै रमाइलो गर्न चाहनुहुन्छ। म उहाँलाई स्वागत गर्न चाहन्छु।
मलाई विश्वास छ, उहाँबाट यस वर्षको संसद अधिवेशनभरि उत्कृष्ट काम हुनेछ, त्यसका लागि शुभकामना।
प्रश्न, टिप्पणी वा सरोकारहरू :
तपाईंसँग कुनै प्रश्न, टिप्पणी वा सरोकारहरू छन् भने, कृपया मलाई harry.bhandari@house.state.md.us मा सम्पर्क गर्नु होला । अमेरिकी प्रजातन्त्रको मूलमन्त्र नै जनताका लागि, जनताद्वारा, जनताको हो । त्यसैले म तपाईहरूलाई सुन्न र सम्बोधन गर्न पाउँदा सधैं खुशी हुनेछु ।
तपाईँहरूको शुभ होस्, सधैँभरि मेरो यही शुभकामना ।