संसद अधिवेशन २०२२ :सातौं साता- नेपाली न्युजलेटर-७

फेब्रुअरी १९-२५, २०२२

हामीले विधायिकी सत्रको आधाभन्दा बढी बाटो तय गरिसकेका छौं। थाहै नभई दिनहरू छिटो-छिटो बितिरहेका छन्। त्यसैले पनि यसलाई हामी सजिलै पत्याइरहेका छैनौ।

म यो सत्रको सुरूदेखि नै अन्नापोलिसमा विधेयक तयारी एवं दर्ता, विधायिकी सुनुवाई, मतदान तथा सहकर्मी विधायकहरूसँग हाम्रा प्राथमिकताका बारेमा छलफल गर्न व्यस्त छु। सधैंजस्तै, म राज्यको विधायिकी प्रक्रियाको एक हिस्सा हुन पाउँदा सम्मानित महसुस गरिरहेको छु। र, राजधानीमा मेरो डिस्ट्रिक्टका जनताको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा कृतज्ञ पनि छु।

विधायिकी बन्ड पहल

म पार्कभिल हाईस्कूलमा एथलेटिक सुविधाको स्तरवृद्धिका लागि ७ लाख ५० हजार बजेट बिनियोजन सिनेटर क्याथी क्लाउजमेयर र मेरो डिस्ट्रिक्ट ८ का सहकर्मी विधायकहरूसँग काम गरिरहेको छु। यसले नयाँ स्कोरबोर्ड र ब्लिचर स्थापना गर्न रकम उपलब्ध गराउने छ जसले विद्यालयलाई घरेलु खेलहरू आयोजना गर्न सहज बनाउने छ।

हामी यो वर्ष ५० लाखभन्दा बढी बजेट ल्याउन प्रयत्नरत् छौं, जुन धेरै नै हो। तर, हामी संघीय पूर्वाधार कोष र राज्यको बजेटभन्दा बढी भएको कोषबाट धेरैभन्दा धेरै रकम ल्याएर हाम्रो समुदायमा लगानी गर्न र बढी पैसा प्रवाह गर्न पनि चाहन्छौं।

स्वास्थ्य र सरकार सञ्चालन समिति अपडेट

मेरो समिति, स्वास्थ्य तथा सरकार सञ्चालनको यो साताको पूरै समय बिधेयक सुनुवाइमा बित्यो। हामीले मतदान सत्रमा धेरै विधेयकहरू पारित गर्‍यौं जुन पछि अधिवेशनको पूर्ण बैठकमा मतदानमा जानेछन्।

यो साता समितिबाट पारित भएका विधेयकहरू निम्नानुसार छन्-


एचबी ४८
सार्वजनिक स्वास्थ्य – मेरिल्याण्ड आत्महत्या घटना समीक्षा समिति
यो बिधेयकले हाम्रो राज्यको आत्महत्या दर घटाउन मेरिल्याण्डमा जारी हानी न्यूनीकरण प्रयासको एक भागका रूपमा  मेरिल्याण्ड आत्महत्या घटना समीक्षा समिति गठन गर्नेछ।

एचबी ४९ सार्वजनिक स्वास्थ्य – आपतकालीन र एलर्जी उपचार कार्यक्रम – नर्स व्यवसायीहरू  
यो विधेयकले नर्स व्यवसायीहरूलाई युवा शिविर सञ्चालन गर्ने निश्चित प्रमाणपत्रवाहकलाई सुई दिन मिल्ने एपिनेफ्राइन लेखिदिन र वितरण गर्ने अधिकार दिन्छ। जिम्मेवार वयस्कको सुरक्षाअन्तर्गत सधैं हाम्रा बालबालिकाहरूको सुरक्षा सुनिश्चित गर्न यो एक प्रभावकारी कदम हुनेछ। सर्वसम्मतिले पारित यस विधेयकलाई सह-प्रायोजन गर्न पाउँदा म खुशी छु।

एचबी ३७५ – खुला बैठक ऐन – आवेदन र परिष्कृत आवश्यकताहरू (मेरिल्याण्ड राज्य आपतकालिन पारदर्शिता ऐन २०२२)
यो विधेयकले केही स्वतन्त्र र क्षेत्रीय विकास इकाईका लागि खुला बैठक ऐनबाट प्राप्त छुटहरू खारेज गर्दछ र निर्दिष्ट सार्वजनिक निकायका लागि खुला बैठक ऐनअन्तर्गत परिष्कृत आवश्यकताको व्यवस्था गर्दछ। यसले स्थानीय र राज्यस्तरमा हाम्रा सरकारी कार्य थप पारदर्शी र आमजनताका लागि पहुँचयोग्य बनाउँछ, उनीहरूलाई हामीलाई राम्रोसँग लेखाजोखा गर्न सक्षम बनाउँछ। सर्वसम्मतिले पारित यस विधेयकलाई सह-प्रायोजन गर्न पाउँदा म खुशी छु।

एचबी ४३० – मानव सेवा – वृद्धावस्था मन्त्रीको योग्यता
यो विधेयकले मानव सेवा –वृद्धावस्था मन्त्रीमा नियुक्त व्यक्तिका लागि चाहिने निश्चित योग्यता निरर्धारण गर्छ। सर्वसम्मतिले पारित यस विधेयकलाई सह-प्रायोजक गर्न पाउँदा म खुशी छु।

बाल्टिमोर काउन्टी प्रतिनिधिमण्डल

बाल्टिमोर काउन्टीका प्रहरी प्रमुख मेलिसा ह्यात आफ्नो विभागको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउन र विधायकहरूका प्रश्न लिन यस साता बाल्टिमोर काउन्टी प्रतिनिधिमण्डलमा सामेल हुनुभयो। अत्यन्त व्यस्त समयतालिका हुँदाहुँदै पनि सहभागिताका लागि धन्यवाद।

उहाँले पछिल्लो स्थितिका बारेमा एक रिपोर्ट प्रस्तुत गर्दै नयाँ भर्नालाई प्रभावकारी बनाउन,  प्रहरी अधिकृतहरूको मानसिक स्वास्थ्यलाई समर्थन गर्न र समुदायको पहुँच बढाउन गरिएका  पहलहरूको बारेमा जानकारी गराउनु भयो। बाल्टिमोर काउन्टीलाई सुरक्षित राख्न आफ्नो जीवन दाउमा राख्ने पुरुष तथा महिलालाई म साँच्चै सम्मान गर्छु, र उत्कृष्ट सेवाको लागि प्रत्येकलाई धन्यवाद दिन्छु।

प्रमुख हयातसँगको छलफल हेर्न यहाँ क्लिक गर्न सक्नु हुन्छ ।

मलाई थाहा छ अपराध हाम्रो समुदाको एक प्रमुख मुद्दा हो। म डिस्ट्रिक्ट ८ का आमजनतालाई अझ सुरक्षित र दीर्घजीवी  बनाउन केन्द्रित छु। त्यसैले म भरसक यस्ता घटनास्थलमा हुने प्रयास गर्छु, त्यसो गर्दा म अपराध अनुभव गर्ने व्यक्तिहरूसँग अन्तरक्रिया गरेर तथ्यको नजिक पुग्न सक्छु, उनीहरूलाई सान्तवना दिन सक्छु। पेरिहलको बिल्स सिफुडमा तोडफोडको घृणित घटना घटेको लगत्तै पनि सहयोग गर्न म त्यहाँ पुगेको थिएँ।

स्थानीय र राज्यस्तरमा निर्वाचित नेताहरूले हाम्रो समुदायका मानिस र सम्पत्तिको सुरक्षालाई प्राथमिकता दिन कानून प्रवर्तनसँग काम गर्नुपर्छ भन्ने कुरामा म विश्वास गर्छु। यसका लागि म कसरी मद्दत गर्न सक्छु, त्यसबारेमा तपाईंबाट सुन्न पनि चाहन्छु।

डबल रक पार्क

मेरिल्याण्ड प्राकृतिक संशाधन विभागले भर्खरै मेरो कार्यालयलाई सूचित गरेको छ कि यसले बाल्टिमोर काउन्टीबाट ४ लाख एलईडीका लागि अनुदान अनुरोध प्राप्त गरेको छ। डबल रक पार्क प्रकाश परियोजनाअन्तर्गत् पूर्वाधार कोषबाट बनाइने स्थानीय पार्क र खेल मैदानका लागि हामीले साधारणसभाबाट पारित गरेका छौं। त्यसैका लागि यो अनुरोध प्राप्त भएको हो। अनुरोध छिट्टै स्वीकृतिका लागि सार्वजनिक निर्माण बोर्डमा पेश गरिनेछ। यस पहललाई समर्थन गरेकोमा बाल्टिमोर काउन्टीलाई मेरो धन्यवाद।

स्मरणीय रहोस् गत वर्ष  म र मेरो डिस्टिक्टका सहकर्मी विधायकले डबल रक पार्कको लागि एक लाख ५० हजारको बिधायिकी बण्ड सुरक्षित गरेका थियौ। यसको मतलब हाम्रो डिस्ट्रिक्टको यस सुन्दर पार्कको लागि सहयोग जुट्दैछ, काम हुदैछ। यसले मलाई आत्मसन्तुष्टी दिन्छ।

नागरिक सम्मान

बाल्टिमोरबासीलाई उत्कृष्ट सेवा प्रदान गर्दै आउन भएका श्री प्रकाश सरार्फ र उहाँको संस्था फ्रेन्ड्स अफ स्पर्सलाई यो साता एक कार्यक्रममाझ विशेष प्रशंसापत्र प्रदान गरियो ।  उहाँलाई सम्मानित गर्न पाउँदा म आफैं पनि सम्मानित भएको महसुस गरेको छु।

श्री सरार्फको हाम्रो समुदायको लागि समर्पित सेवा, विशेषगरी घरबारविहीन र अन्य जोखिममा परेका मानिसलाई गर्दैआउनु भएको मद्दत र  कोभिड १९ बाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा गर्नुभएको सहयोग वास्तवमै प्रेरणादायी छन्। हामीले मेरो कार्यालयका साथै काउन्टी कार्यकारी जोन ओल्जसेव्स्की, जूनियर (उपस्थितिको लागि काउन्टी कार्यकारीको कार्यालयबाट वृन्दा पानीलाई मेरो धन्यवाद), कांग्रेसम्यान डच रुपर्सबर्गर र गभर्नर ल्यारी होगनका तर्फबाट सम्मानपत्रसहित धन्यवाद ज्ञापन गर्यौं।

अतुलनीय कामको लागि श्री सरार्फलाई धन्यबाद।

छात्रवृत्तिका लागि आवेदन

मेरो कार्यालयले २०२२-२०२३ को छात्रवृत्तिका लागि आवेदन लिइरहेको छ :
आवेदन डिस्ट्रिक्ट ८ का मेरा सहकर्मीहरू विधायक जोसेफ बोटेलर- II र कार्ल ज्याक्सनका लागिसमेत लिइने छ। आवेदन दिने अन्तिम मिति मार्च ३१, २०२२ हो।

आवेदन फारामका लागि तपाईं यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
वा
यो QR कोड स्क्यान गर्न सक्नुहुन्छ।

आवेदन गर्नुअघि ध्यान दिनुपर्ने केही कुराहरू:

आवेदक मेरिल्याण्डको डिस्ट्रिक्ट ८ को बासिन्दा हुनुपर्छ :
त्यसका लागि तपाईं mdelect.net मा आफ्नो ठेगाना रूजु गर्न सक्नुहुन्छ । यदि तपाईं अन्य डिस्ट्रिक्टमा बस्नुहुन्छ भने, हामी तपाईंलाई त्यही डिस्ट्रिक्टका विधायकहरूमार्फत् छात्रवृत्तिको लागि आवेदन दिन सुझाव दिन्छौं ।

 आवेदक मेरिल्याण्डका कलेज वा विश्वविद्यालयमा पूर्ण वा आंशिक समयको विद्यार्थी हुनुपर्छ:
 हामी मेरिल्याण्ड बाहिर अध्ययन गर्न जाने विद्यार्थीलाई (कुनै विशिष्ट परिस्थिति बाहेक) छात्रवृत्ति प्रदान गर्न असमर्थ छौं।

आवेदकहरूले एकपटक मात्र आवेदन गर्नुपर्छ:
डिस्ट्रिक्ट ८ का तीन विधायकहरू (भण्डारी, बोटेलर र ज्याक्सन) ले साझा छात्रवृत्ति कोष सञ्चालन गर्नुहुन्छ। आवेदन स्वीकार गर्न र निर्णय गर्न पनि एउटै प्रणाली प्रयोग हुन्छ । तपाईंले यो फारम एकपटक, एक ठाउँमा पेश गरेपछि तीनवटै कार्यालयले समीक्षा गर्न सक्छन् । त्यसैले तीन ठाउँमा आवेदन दिन आवश्यक छैन।

ध्यान दिनुपर्ने थप कुराहरू:
विधायिकी छात्रवृत्तिहरू गैर-नवीकरणीय छन्, यसको मतलब तपाईंले प्रत्येक वर्ष पुन: आवेदन गर्नुपर्छ। फाफ्साका लागि फाइल गर्न प्रोत्साहित गरिए पनि त्यो त्यति आवश्यक छैन । यदि तपाईं फाफ्साका लागि आवेदन दिनुहुन्न भने छात्रवृत्ति पुरस्कार प्रक्रियाको लागि मेरिल्याण्ड उच्च शिक्षा आयोग (MHEC) मा एउटा एकाउन्ट खोल्नुपर्छ।

थप विवरणका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ 

तपाईंसँग छात्रवृतिका बारेमा कुनै पनि जिज्ञासा वा प्रश्न भएमा निम्न इमेलहरूमा सम्पर्क गर्न सक्नुहुनेछ :
Harry.Bhandari@house.state.md.us, Joseph.Boteler@house.state.md.us, Carl.Jackson@house. state.md.us

हामी तपाईका जिज्ञासा र प्रश्नहरूको सम्बोधन गर्ने नै छौं ।

छात्रवृति र उच्च शिक्षाका लागि अग्रिम शुभकामना ।

प्रश्नटिप्पणी वा सरोकारहरू :

तपाईंसँग कुनै प्रश्न, टिप्पणी वा सरोकारहरू छन् भने, कृपया मलाई harry.bhandari@house.state.md.us मा सम्पर्क गर्नु होला । अमेरिकी प्रजातन्त्रको मूलमन्त्र नै जनताका लागि, जनताद्वारा, जनताको हो । त्यसैले म  तपाईहरूलाई सुन्न र सम्बोधन गर्न पाउँदा सधैं खुशी हुनेछु ।

तपाईहरूलाई सफलता मिलोस्जीवन सुखमय होस्- मेरो यही शुभकामना ।

 

Become a Part of Our Team

Support Us For Your Better Future