नयाँ बर्ष २०२२ को हार्दिक शुभकामना !
म र मेरा प्रियजनहरूको तर्फबाट तपाईलाई यो वर्ष शान्ति र आशिर्वाद मिलोस्, यही कामना गर्दछु । जनवरी १२ देखि सुरु हुने संसद अधिवेशनको अप्रिल ११ मा साइन डाइ अर्थात् संसद अधिवेशन अन्तको घोषणा नभएसम्म साप्ताहिक रूपमा जानकारीहरू उपलव्ध गराउने छु । त्यसपछि भने मासिक रूपमा मात्र जानकारीहरू उपलव्ध गराइनेछ । यसपटकको अन्नापोलिस बसाइ सुरू गर्न लागेको यतिबेला म यहाँहरूसमक्ष संक्षेपमा सन् २०२१ लाई फर्केर हेर्दा र सन् २०२२ लाई नियाल्दा प्रस्तुत गर्न चाहन्छु ।
संसद अधिवेशन २०२१ मैले गत वर्षको संसद अधिवेशनमा पाँचवटा विधेयक पारित गराएँ । मेरो कार्यकालको तीन वर्षमा म संलग्न १० वटा विधेयक पारित भएर कानून बनिसकेका छन् । गत संसद अधिवेशनमा मैले प्रस्तुत गरेका प्रारम्भिक मतदान, प्रहरी र सामूहिक बार्गेनिङसम्बन्धी विधेयकहरू दुबै दलको भारी समर्थनका साथ पारित भएको देख्दा मलाई गर्वको अनुभूति भयो।
मेरो आफ्नै विधेयकहरू जो कानुन बने:
दर्ता गरिएका यौन अपराधीहरूलाई सामुदायिक विद्यालय भवनमा प्रवेश निषेध
यसले पार्कभिल हाई स्कूलका विद्यार्थीहरूबीचको यौन दुर्व्यवहारको घटनालाई सम्बोधन गर्यो, जसमध्ये एकजना दर्ता गरिएको यौन अपराधी थियो। मलाई आशा छ कि यो राष्ट्रकै यस्तो पहिलो विधेयकले मेरिल्याण्डलाई फेरि यस्ता घटना हुनबाट जोगाउने छ।
मेरिल्याण्ड स्वास्थ्य विभागअन्तर्गत वातावरणीय स्वास्थ्य विशेषज्ञहरूको बोर्डको शुल्क पुनर्संरचना
यसले राज्यको सामान्य राज्यकोषलाई बढावा दिन्छ र हाम्रो राज्यमा एजेन्सीहरूमार्फत पैसाको प्रवाहलाई सुव्यवस्थित गर्न मद्दत गर्दछ।
बाल्टिमोर काउन्टी नजरबन्द र सुधार अधिकारीहरूको सेवा-सुविधा वृद्धि
हामी यी व्यक्तिहरूले महामारीको समयमा काम गर्ने र आफ्नो कामप्रतिको सांस्कृतिक मनोवृत्ति परिवर्तन गर्ने दोहोरो चुनौति सामना गरिरहेको अवस्थामा छौं । यस्तो अवस्थामा गरिएको सुविधा वृद्धिले उनीहरूको मनोबल उच्च हुन्छ र काममा गुणात्मक प्रभाव पर्छ ।
शारीरिक थेरापी अभ्यास गर्न अस्थायी इजाजतपत्रहरूको योग्यता विस्तार
यसले यी खोजिएका सेवाहरू पाउँन सजिलो बनाउँछ र महामारीको समयमा हाम्रो राज्य स्वास्थ्य सेवा प्रणालीमा त्यस्तो सेवाको चाप कम हुन्छ ।
बाल्टिमोर काउन्टीको इजाजतपत्र आयुक्तहरूको बोर्ड सदस्य बाल्टिमोर काउन्टीकै बासिन्दा
यसले मध्यपानजन्य नियमहरू लागु गर्ने निकायमा स्थानीय समुदायमा लगानी गरेका मानिस नै पुग्ने सुनिश्चितता प्रदान गर्छ । मलाई पार्कभिल हाई स्कूलमा नयाँ टर्फ फिल्ड र ओभरलिया हाई स्कूल, डबल रक पार्क र लिनोभर पार्क सुधारलगायतका योजनाका लागि २० लाखभन्दा बढी बजेटको ब्यवस्था गर्ने क्रममा मेरो निर्वाचन क्षेत्र डिस्ट्रिक्ट ८ का सहकर्मीहरूसँग काम गर्न पाउँदा गर्व लागेको छ। साथै, संसदले केही महत्वपूर्ण कानूनहरू पारित गरेको छ । त्यसमध्येको आवर रिलिफ एक्ट (हाम्रो राहत ऐन)ले कम आय भएका मानिसलाई प्रत्यक्ष भुक्तानीहरू, बेरोजगारी दाबीहरू प्रशोधन गर्न मदत गर्ने प्रावधानहरू, र कमाएको आयकर क्रेडिटको विस्तारमार्फत व्यवसायहरू र निम्न र मध्यम आय भएका कामदारहरूको लागि कर छुटहरूमार्फत कोभिड-१९ महामारीलाई सम्बोधन गर्न खोजेको छ।
हामीले मेरिल्याण्डको भविष्यको लागि पारित गरेको विधेयक ‘ब्लुप्रिन्ट फर मेरिल्याण्ड फ्युचर’विरूद्ध गभर्नरले प्रयोग गरेको भिटोलाई समेत निस्क्रिय पार्यौ । यो हाम्रो ठूलो सफलता हो । यसबाट हाम्रा विद्यालयहरूले आगामी पुस्ताका हाम्रा नानीबाबुहरूलाई सफलताको लागि बलियो आधार प्रदान गर्न शिक्षण, प्रविधि, र निर्माणमा ठूलो लगानी प्राप्त गर्न सक्छन् ।

संसद अधिवेशन २०२२
यो मेरो पहिलो कार्यकालको अन्तिम संसद अधिवेशन हो । मैले पहिले नै केही विधेयकहरू दर्ता गरिसकेको छु र अधिवेशनकै क्रममा पनि केही विधेयक तयारी गरिरहेकै छु । मैले सधैंभरि मेरा मतदाताहरूका सुझाव, सल्लाह र मार्गनिर्देशन सुनेर प्राथमिकताहरू निर्धारण गर्ने गरेको छु । यसपटक पनि म यहाँहरूका प्राथमिकताहरू सुन्न तयार छु।
मैले निम्न विधेयकहरू अगाडि बढाउन पहल गरिसकेको छु:
घरबाटै रक्तचाप निगरानी
यसले मानिसहरूलाई उनीहरूको घरबाटै रक्तचाप निगरानी गर्ने अधिकार प्रदान गर्छ । यसो गर्दा स्वास्थ्यको बारेमा थप सूचित रहन मद्दत पुग्छ भने डाक्टरकोमा बाराम्बार गैरहनुपर्ने समय र स्रोतको पनि बचत हुन्छ। यस विधेयकलाई डिस्ट्रिक्ट १५ का सिनेटर ब्रायन फेल्डम्यानले सिनेटमा प्रस्तुत गरिदिनुभएको छ, त्यसका लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु।
फार्मासिस्टहरूलाई सूर्तीजन्य पदार्थमा निर्भरता कम गर्ने औषधि सिफारिस गर्न अनुमति
यसले सूर्तीजन्य पदार्थको प्रयोगबाट छुट्कारा लिएर आफ्नो स्वास्थ्य सुधार गर्न खोज्नेहरूलाई सहयोग पुग्ने छ। यस विधेयकको सह-प्रायोजन गरिदिनु भएकोमा डिस्ट्रिक्ट ४६ का डेलिगेट रोबिन लुइस र सिनेटमा प्रस्तुत गरिदिनु हुने डिस्ट्रिक्ट ४३ कि सिनेटर मेरी वाशिंगटनलाई धन्यवाद दिन चाहन्छु।
दशैं दिवसको राज्यव्यापि मान्यता
नेपालमा उत्पत्ति भएको दशैं एक महान चाडका रूपमा धेरै दक्षिण एसियाली समुदायहरूमा मनाइन्छ । मेरिल्याण्डमा बढ्दो दक्षिण एसियाली डायस्पोराको लागि धेरै महत्त्वपूर्ण यो पर्व उच्चस्तरबाट औपचारिक मान्यताका लागि योग्य छ। हाल मस्यौदाकै क्रममा रहेको यो प्रस्तावित विधेयक सिनेटमा प्रस्तुत गर्न सहमत हुनुभएकोमा डिस्ट्रिक्ट २१का सिनेटर जिम रोजापेपलाई म हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
म मेरो पहिलो कार्यकालको चौथो अर्थात् अन्तिम नियमित संसद अधिवेशनको लागि धेरै उत्सुक छु र यस वर्षको संसदले के गर्छ भनेर हेर्न उत्साहित पनि छु। हेरौ, के हुन्छ? अहिलेलाई प्रतिक्षा गरौं ।
मेरिल्याण्डमा कोभिड-१९
मेरिल्याण्डमा ओमिक्रोन भेरियन्टको आगमनले कोभिड-१९ को तीव्र वृद्धि देखिएको छ । पछिल्ला सात सातामा, राज्यमा कोभिड-१९ का कारण अस्पताल भर्ना हुनेको संख्या ५०० प्रतिशतभन्दा पनि माथि छ । जनवरी ४ मा अहिलेसम्मकै सबैभन्दा बढी ३,०५७ जना विरामी अस्पताल भर्ना भएका थिए, यो संख्या ५,००० भन्दा पनि बढी पुग्न सक्ने अनुमान छ।
गत साता, गभर्नर ल्यारी होगनले ३० दिने संकटकालिन अवस्थाको घोषणा गर्दै आगामी साता र महिनाहरूमा हाम्रो स्वास्थ्य सेवा प्रणालीमा बढ्दो तनावलाई कम गर्न श्रृंखलावद्ध कार्यकारी आदेशहरू जारी गर्नुभएको छ । यसमा अस्पताल र हेरचाह सुविधाहरूमा कर्मचारी अभावलाई सम्बोधन गर्ने प्रावधानहरू, आपतकालीन चिकित्सा कर्मचारी कार्यबलको विस्तार र स्वास्थ्य अधिकारीहरूलाई सहयोग गर्न मेरिल्याण्ड नेशनल गार्डको परिचालन, राज्यभर २० नयाँ परीक्षण केन्द्रहरूको स्थापना, र १२-१५ वर्षको उमेर समूहका लागि बुस्टर खोपहरूको ब्यवस्थालगायत छन् ।
यसैगरी, बाल्टिमोर काउन्टी कार्यकारी जोन ओल्स्जेव्स्की, जुनियरले पनि स्थानीय संकटकालिन अवस्थाको घोषणा गर्नु भएको छ । कोभिड-१९ संक्रमण नभएका र खोपको सबै मात्रा पूरा गरेका भए पनि सबै नागरिकहरूले जनवरीको अन्त्यसम्म काउन्टीभरि नै अनिरवार्य रूपमा इन्डोर मास्क लगाउनै पर्ने आदेश जारी गरिएको छ । काउन्टी काउन्सिलले पनि समुदायहरू, कार्यस्थलहरू र विद्यालयहरूबाट कोभिड-१९ को फैलावट रोक्ने एक प्रमुख कदमका रूपमा यस उपायको भारी मतले समर्थन गरेको छ। विद्यार्थीसहितको कक्षाकोठामा कार्यरत एक शिक्षक र यस वर्षको संसद अधिवेशन नजिकिँदै गर्दाको एक डेलिगेट दुवैको हैसियतले हाम्रो स्वास्थ्य अवस्था निरन्तर गलत दिशामा गैरहेको देखेर म अत्यन्त चिन्तित छु । म जनवरीको सुरुमा अस्वस्थ महसुस गरिरहेको थिएँ र मैले मेरो जीवनमा ओमिकर्न सारिरहेको छैन भनी सुनिश्चित गर्न परीक्षण गरें। यो एक किसिमको चेतावनी हो कि हामीले यो महामारीविरूद्ध लड्न अझै पनि प्रर्याप्त काम गरिसकेका छैनौं; हाम्रा साथीहरू र परिवार, सहकर्मीहरू र समुदायहरूको स्वास्थ्य र सुरक्षाका लागि सावधानी अपनाउन जरूरी छ।
अझै केही सातासम्म कृपया मास्क लगाउनु होस्, सामाजिक दूरी कायम राख्नुहोस्, र थप जोखिमपूर्ण व्यवहारका बारेमा एकपटक हैन, गम्भिरतापूर्वक दुईपटक सोच्नुहोस् । सबैभन्दा महत्वपूर्ण कुरा त कृपया कोभिड-१९का खोप र बूस्टर लगाउनु होस् । हामीले २०२१ मा कोरोना महामारीलाई परास्त गरेका छैनौं,यदि मिलेर काम गर्यौं भने २०२२ मा यसमाथि विजय प्राप्त गर्न सक्छौं । कृपया सुरक्षित रहनुहोस् र स्वस्थ रहनुहोस्, ।
नयाँ वर्षमा मेरो शुभकामना तपाईंसँगै छ !
मसँग यहाँ सम्पर्क गर्न सक्नुहुने छ:
तपाईंसँग कुनै पनि प्रश्न, टिप्पणी, वा सरोकार भएका सम्पर्क गर्न नहिकिचाउनु होला ।
तपाईं harry.bhandari@house.state.md.us वा इमेल गरेर वा ४१०-८४१-३५२६ मा फोन गरेर मेरो कार्यालयमा सोझै सम्पर्क गर्न सक्नुहुन्छ ।
अन्नापोलिसमा मेरो कार्यालय ६ ब्लाडेन स्ट्रिट, रुम ३०३, अन्नापोलिस एमडी २१४०१ मा अवस्थित छ, र मसँग ७७०१ बेलेयर रोड, नॉटिङ्घम एमडी २१२३६ मा डिस्ट्रिक्ट ८ को कार्यालय पनि छ।
म र मेरो कर्मचारी यहाँको सेवामा छौँ र २०२२ को संसद अधिवेशनभरि नै हामी सेवारत् रहने छौं ।